सुदूर नेपाललाई विश्वसँग जोड्दै

माधव नेपालको पार्टीप्रति ओलीको भविष्यवाणीः पोहोर भदौमा जन्मियो, अर्को भदौमा सकिँदै छ 

२०७९ असोज ८, ०२:५६ खबर संवाददाता

काठमाडौंः एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी फुटेर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको आयुबारे भविष्यवाणी गर्दै अर्को भदौसम्म अस्तित्व सकिएको अवस्थामा पुग्ने बताएका छन्। राष्ट्रिय युवा संघको राष्ट्रिय प्रचार भेलालाई शुक्रबार सम्बोधन गर्दै ओलीले त्यस्तो दाबी गरेका हुन्। 

‘नेकपा एस भन्ने पार्टी छ नि आजकाल, पोहोर भदौमा जन्मियो, यो भदौमा त्यसलाई बैंस आयो, अर्को भदौसम्म पुग्दै पुग्दैन,’ ओलीले भने, ‘एमाले वरपीपलजस्तै सयौँ वर्ष बाँच्छ, त्यो पार्टी तितेपाती झारजस्तै हो, जन्मिनेबित्तिकै हल्किन्छ, तीन महिनामै मर्छ, आजकाल भुइँ खोस्रिन छाड्यो, लुसुलुसु हिँडिराख्या छ, मंसिर ४ पछि तपाईंहरूले हेर्नुहोला टोपी खोलेर गालामा हात लगाउने हालतमा पुग्नेछ ।’ 

नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको कुण्डली एमालेको हातमा रहेको भन्दै ओलीले अर्को भदौमा सकिने कुण्डली कोर्ने काममा देशव्यापी रूपमा सक्रिय भएर लाग्न निर्देशन पनि दिए । गठबन्धनमा रहेका सबै पार्टीलाई बुढो पार्टीका रूपमा चित्रित गर्दै ओलीले एमाले मात्र युवा पार्टी भएको दाबी पनि गरे। 

एक्लै चुनाव लड्न नसकेर अहिले कांग्रेसले गठबन्धन बनाएर नक्कली सहयात्रीको सहारा लिइरहेको भन्दै ओलीले उसले छिट्टै धोका पाउने ठोकुवासमेत गरे। ‘बुढो कांग्रेसको ठ्याइँठ्याइँ धेरै भो, जुरो पोरपरार गइसक्यो, सिङ खुस्किसक्यो, नक्कली सहयात्री खोजेर हिँडेको छ, गन्तव्य कहाँ हो थाहा छैन, अलि पर पुगेपछि एउटा भेटिँदैन, फेरि अर्को भेटिँदैन, त्यसपछि बल्ल उसले सहयात्रीबारे थाहा पाउनेछ।’

कमेन्ट लोड गर्नुस