सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बीमाको पहुँच अभिवृद्धि गरिनुपर्छः अर्थमन्त्री शर्मा

२०७९ असोज ७, ०५:०७ खबर संवाददाता

धनगढीः अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बीमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो औंल्याएका छन्। बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आज धनगढीमा शुभारम्भ गर्दै उनले बीमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताए।

उनले भने, “अहिले नेपालभर समग्रमा बिमाको पहुँच ४१।२ प्रतिशत छ।  सुदूरपश्चिम प्रदेशमा १९।१७ प्रतिशत मात्रै छ। यसलाई वृद्धि गरिनुपर्छ।” उनका अनुसार देशभरि विभिन्न बीमा कम्पनीका तीन हजार तीन सय ६६ शाखा सञ्चालन छन् भने सुदूरपश्चिममा तीन सय २७ मात्रै छन्। “अहिले बीमा संस्थानले दिएको प्रत्यक्ष बीमा सन्दर्भका रोजगारी १२ हजार ३१ को सङ्ख्यामा रहेको तर सुदूरपश्चिम प्रदेशमा छ सय ८७ मात्रै रहेको छ”, मन्त्री शर्माले भने, “यसबाट के देखाउँछ भने सुदूरपश्चिम प्रदेश बिमाको पहुँचबाट अलि टाढाजस्तो छ।”

अर्थमन्त्री शर्माले लगानीको जोखिम न्यूनीकरण गर्ने मुख्य काम बीमाका रहेको स्पष्ट पार्दै बीमाद्वारा ठूला विपत्तिको जोखिम पनि न्यूनीकरण गर्न सकिने बताए। लगानीकर्तालाई, प्रयोगकर्तालाई र उत्पादनकर्तालाई ढुक्क भएर आफ्नो क्षेत्रमा काम गर्ने वातावरण बनाउने बीमाको मुख्य उद्देश्य रहेको उनले बताए।

कार्यक्रममा प्रदेश सरकार आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले विभिन्न जोखिमको व्यवस्थापनमा बीमाले ठूलो सहयोग गरेको बताए। उनले भने, “सबै क्षेत्रमा यो बिमा जानु पनि जरुरी छ।” भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जोखिम अन्त्य गर्नको लागि बीमालाई व्यापकरुपमा लग्न प्रदेश सरकार तयार रहेको बताए। बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिम न्यूनीकरण गर्ने  संयन्त्रको रुपमा बीमालाई लिनुपर्ने धारणा व्यक्त गरे। उनले भने, “यो काम प्रदेश सरकारबाट सुरु गर्नुपर्दछ।”रासस

कमेन्ट लोड गर्नुस