सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर बाढी प्रभावितको जङ्गलमा बास, कहाँ छ सरकार ? 

२०७९ असोज ७, ०१:३० खबर संवाददाता

धनगढीः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावितहरुले अझै जङ्गलमा रात बिताउनुपरेको गुनासो गरेका छन्। गत शुक्रबार रातिको वर्षापछि बाढीले प्रभावित बनेकाहरु अहिलेसम्म पनि सामान्य अवस्थामा फर्किन सकेका छैनन्। 

अहिले यहाँका १५ परिवार जनजागरण सामुदायिक वनमा रातदिन काटिरहेका छन्। बाढीले प्रभावित भएपछि जङ्गलमा त्रिपाल टाँगेर ओत बसेको एकान्त टोलका मेघु बोहरा बताए। ‘घरभित्रको सामान पूरै बाढीले लग्यो, घरका खम्बा मात्रै बाँकी छन्,’ उनले भने, ‘घरभरी माटो नै माटो भएको छ, लत्ताकपडा सबै बाढीले लग्यो।’

शुक्रबार राति वनहरा नदीमा आएको बाढीले आफूहरुको बिचल्ली भएको उनको गुनासो छ। ‘यतिका दिन भयो, आजसम्म जङ्गलमै त्रिपाल टाँगेर बसेका छौँ, घर कसरी फर्किने त्यहाँ बाढीले केही राखेको छैन,’ उनले भने, ‘सरकारले हामीलाई बेवास्ता गरेको छ। प्रदेश सरकार, स्थानीय सरकारसँग राहतको माग गर्दछौ।’

एकान्त टोलमा १५ कट्ठा जग्गामा लगाएको उनको धान खेतीमा वनहरा नदीको बाढीले क्षति पुर्‍याएको छ। बाढी प्रभावित शुक्लाफाँटा नगरपालिका–११ वनहरा शिविरका सुकुम्बासी पनि बिचल्लीमा परेका छन्। त्यहाँका ३० परिवार पनि नजिकैको जङ्गलमा त्रिपालमुनि रात काटिरहेका छन्। बर्सेनि बाढीको पीडा झेल्दै आए पनि अहिलेसम्म सरकारले आफूहरूलाई नहेरेको वनहराका सुकुम्बासीको गुनासो छ। बर्सेनि बाढीले दुःख दिँदै आए पनि अहिलेसम्म यसको दिगो व्यवस्थापन हुन सकेको छैन। 

यता, शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले भने बाढी प्रभावितलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए। बाढीपछिको अवस्थालाई सामान्य बनाउने प्रयास गरिरहेका उनले बताए। 

कमेन्ट लोड गर्नुस