भारतका अडानी विश्वकै दोश्रो धनी
एजेन्सी: आईआईएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट २०२२’ बुधबार सार्वजनिक भएको छ। भारतका सबैभन्दा धनी १४९ को धनदौलतको स्थिति सूचीकृत यस सूचीमा अडानी समूहका अध्यक्ष गौतम अडानी १०।९४ लाख करोड भारुको सम्पत्तिका साथ पहिलो नम्बरमा छन्।
अडानी फोर्ब्सको सूचीमा भर्खरै जेफ बेजोसलाई उछिनेर विश्वको दोस्रो धनाढ्य व्यक्ति बनेका छन्। हरुनको धनाढ्य सूचीको दोस्रो स्थानमा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी छन्। उनको सम्पत्ति ७।९४ लाख करोड भारु रहेको सूचीमा उल्लेख छ।
गत वर्ष २०२१ सेप्टेम्बर ३० मा अघिल्लो सूचि सार्वजनिक भएयता अडानीले हरेक दिन १६ अर्ब १२ करोड भारु कमाएको पाइएको छ। यस अवधिमा अम्बानीको दैनिक कमाई भने २ अर्ब १० करोड भारु थियो।
अडानीको सम्पत्ति एक वर्षमा ११६ प्रतिशतले बढोत्तर भएको छ भने अम्बानीको सम्पत्ति ११ प्रतिशतले बढेको छ।
अघिल्लो सूचीमा अम्बानी पहिलो स्थानमा थिए भने अडानी दोस्रो नम्बरमा थिए। सूचीमा साइरस पूनावाला तेस्रो नम्बरमा छन् भने शिव नाडर चौथो नम्बरमा छन्। हुरुन सूचीको सुरुवात भएयता पहिलोपटक सूचीकर्ताहरूको कुल सम्पत्ति बढेर १०० लाख करोड भारु पुगेको हो, जुन सिंगापुर, युएई र साउदी अरेबियाको संयुक्त कुल ग्राहस्थ उत्पादनभन्दा बढी हो।
हुरुनले आईआईएफएल वेल्थसँगको सहकार्यमा ‘आईआईएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट’ सूची प्रकाशित गर्ने गर्छ। यो उसको ११ औं संस्करण हो।