कञ्चनपुरको कृष्णपुरका मेयर ओझासहितका उम्मेदवारलाई जरिबाना
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझासहतिका जनप्रतिनिधि तथा उम्मेदवारहरुलाई कारबाही गरिएको छ। गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्चको विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले उनीहरुलाई जरिबाना तिर्न भनेको हो।
नगर प्रमुखमा विजयी भएका ओझासहित उनका प्रतिस्प्रर्धीहरु जगदिश प्रसाद भट्ट, जोगराज चौधरी, लोकेन्द्र प्रसाद पन्त, सुरेन्द्र बहादुर बम र सुशिल प्रसाद बडूलाई निर्वाचन आयोगले जरिबाना गरेको हो। उनीहरुले चार लाख ५० हजार जरिबाना तिर्नुपर्ने छ। उप–प्रमुखका उम्मेदवारहरु मञ्जुकुमारी नेपाली, उषादेवी थापा, गीता मल्ल, जानकी चन्द, द्रोपती राना र रमिता कुमारी रानालाई पनि प्रतिव्यक्ति चार लाख ५० हजार जरिबाना गरिएको छ।
जिल्लाको कृष्णपुर नगरपालिकामा स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य, दलित महिला सदस्यसहित एक सय ७२ जना उम्मेदवारलाई पनि जरिबाना गरिएको छ। उनीहरुले २ लाखका दरले जरिबाना तिर्नुपर्ने भएको छ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा भएको खर्चको विवरण पेश गर्ने उम्मेदवारहरुलाई ६ महिनाको समय दिएको छ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (३) बमोजिम ६ महिनाभित्र निर्वाचन आयोगको कार्यालय कोर्ड नं. २१२००३५०१, राजश्व शिर्षक नम्बर नम्बर १४३१२ मा दाखिला गरि दाखिला भौचरसहितको निवेदन प्रदेश र जिल्ला निर्वाचन कार्यालय वा आयोगमा पेश गर्न भनिएको छ। उनीहरुले जरिबाना नतिरेमा ६ वर्षसम्म उम्मेदवारी दिन नपाउने र निर्वाचितहरुको पदसमेत जाने आयोगले बताएको छ।