धनगढीका नागरिकको एक स्वर – डाक्टर केसीले उठाएका माग छिटो पूरा गर
धनगढी: धनगढीमा अनशन बसेका डाक्टर गोविन्द केसीको समर्थनमा नागरिकस्तरबाट ऐक्यवद्धता बढ्न थालेको छ। स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै गत सोमबारदेखि सत्याग्रहमा रहेका केसीले उठाएका माग शीघ्र पूरा गर्न धनगढीमा नगरिकस्तरबाट शान्तिपूर्ण प्रदर्शन थालिएको हो।
डाक्टर केसीको स्वास्थ अवस्था नाजुक भएकाले तत्काल वार्ता गरेर माग पूरा गर्न सरकारलाई खबरदारी गर्न प्रदर्शन गर्नुपरेको धनगढीका रोहित चन्दले बताए। ‘डाक्टर केसी अनशन बसेको सात दिन भइसकेको छ तर सरकारले कुनै मतलव गरेको छैन,’ उनले भने, ‘सरकारलाई डाक्टर केसीको जीवन रक्षा र माग पूरा गराउन खबरदारी गर्न शान्तिपूर्ण प्रदर्शनमा उत्रिनु परेको हो।’
अनशनको एक साता पुग्दासम्म सरकारले डाक्टर केसीसँग वार्ता नगरेर जीवनमाथि खेलवाड गरेको नागरिकको आरोप छ। उनको जीवन रक्षा गर्न चासो नदेखाएको भन्दै प्रदर्शनमा उत्रिएको धनगढीका नागरिक अभियन्ता प्रमोद पाठकले बताए। ‘सुरूमा सरकारले वास्ता गर्ला भनेर हामी प्रदर्शनमा उत्रेका होइनौँ,’ उनले भने, ‘अब त सात दिन भइसक्यो सरकारले माग पूरा गर्न कुनै चासो नदेखाएकाले शान्तिपूर्ण प्रदर्शन गर्नुपरेको हो।’
सरकारले केसीसँग वार्ता नै नगर्नुले सरकारको लोकतान्त्रिक आचरण र चरीत्रमा प्रश्न गर्नुपर्ने अवस्था रहेको प्रदर्शनमा सहभागीले बताएका छन्। तर सरकारले आइतबार अपरान्ह वार्ता गर्न अग्रसरता देखाएको छ। लोकतान्त्रिक मुलुकमा २०औं पटकसम्म एउटै मागका लागि आमरण अनशन बस्नुपर्ने अवस्था आउनु दुःखद भएको धनपति ढुङ्गेलको भनाइ छ। ‘डाक्टर केसीका मागप्रति राज्यले गम्भीर नहुनु लज्जाको विषय हो,’ उनले भने, ‘डाक्टर केसीका माग पूरा गरेर सरकारले जिम्मेवारी देखाउनु पर्छ।’
सुदूरपश्चिम प्रदेशको गेटा मेडिकल कलेजको संचालन पनि डाक्टर केसीको मागमा समेटिएको छ। सरकारले तत्काल डाक्टर केसीले उठाएका मुख्य माग पूरा गर्नुपर्ने प्राध्यापक डाक्टर हेमराज पन्तले बताए। ‘सरकारले डाक्टर केसीले उठाएका मुख्य माग तत्काल पूरा गर्नुपर्छ,’ उनले भने, ‘मुख्य माग पूरा गरे डाक्टर केसीलाई अनशन तोड्न पनि सहज हुन्छ।’
अनशनको सातौं दिनसम्म पुग्दा डाक्टर केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ। सेती प्रादेशिक अस्पतालमा रहेका डाक्टर केसीको स्वास्था थप जटिल हुने अवस्था रहेको जानकारी डाक्टर अमृत जैसीले दिएका छन्। ‘डाक्टर केसीले औषधि लिन इन्कार गर्नु भएको छ,’ उनले भने, ‘उहाँको मुख्य अंगमा जटिल समस्या आउन सक्ने चेतावनी दिइएको छ।’
लोकतान्त्रिक शासन प्रणाली भएको मुलुकमा स्वास्थ जस्तो आधारभूत आवश्यकतामा सुधार होस् भनेर पटकपटक नागरिकले आन्दोलन गर्नुपर्ने अवस्था हुनु लज्जाको विषय भएको नागरिकहरूले टिप्पणी गरेका छन्। राज्य लोककल्याणकारी हुनुपर्नेमा एउटै माग पूरा गर्न पटकपटक सम्झौता उल्लङ्घन गरेर राज्यले ठगी गरिरहेकाले डाक्टर केसीको पक्षमा आम एक्यवद्धता हुनुपर्ने अधिकारकर्मी चित्रा पनेरूको धारणा छ।
‘राज्यले डाक्टर केसीसँग पटकपटक सम्झौता गरेर उल्लङ्घन गरेको छ,’ उनले भने, ‘नागरिकसँग सम्झौता गरेर त्यो अनुसारको काम नगरेर ठगी गरेको छ। राज्यले यसरी ठगी गर्ने काम अपराध हो।’ केसीले गेटामा मेडिकल कलेज सञ्चालनसहितका सात बुँदे माग राख्दै भदौ २७ गतेबाट धनगढीमा आमरण अनशन थालेका हुन्। स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई सेती अस्पताल भर्ना गरिएको छ। तर उनले पानीबाहेक कुनै पनि औषधि निलन मानिरहेका छैनन्।