बयालपाटा अस्पताल सञ्चालनका लागि प्रदेश सरकार र न्याय हेल्थ नेपालबीच सम्झौता
अछाम: अछाममा रहेको बयालपाटा अस्पताल सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालय र न्याय हेल्थ नेपालबिच सम्झौता भएको छ।
५० शय्या रहेको अस्पतालको दीर्घकालिन व्यवस्थापनसहित सञ्चालनका लागि प्रदेश सरकारले वार्षिक ९ करोड बजेट बिनियोजन गर्ने गरी ५ वर्षका लागि सम्झौता भएको अस्पतालका मेडिकल निर्देशक डा मन्दिप पाठकले बताए।
सामाजिक विकास मन्त्रालयका तर्फबाट वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्का र न्याय हेल्थ नेपालका तर्फबाट संस्थाका अध्यक्ष कुन्द दिक्षितले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
५० देखि २०० शय्यासम्मका अस्पताल प्रदेश सरकार मातहत रहने नीतिअनुसार नेपाल सरकारले बयालपाटा अस्पताललाई सुदूरपश्चिम मप्रदेश मातहतमा राखेको थियो। तर, प्रदेश मातहत राखेको २ वर्षसम्म पनि प्रदेश सरकारसँग सम्झौता हुन सकेको थिएन।
बयालपाटा अस्पतालले विगत १४ वर्षदेखि निःशुल्क रुपमा गुणस्तरीय सेवा दिँदै आएको छ।