खानेतेलको मूल्य घट्यो
धनगढीः सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पछि खाने तेलको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल खुद्रा व्यापार संघकाअुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ३० रुपैयाँले घटेको छ । सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएको टोखा चेम्बर अफ कमर्शका अध्यक्ष सञ्जय फुँयालले बताए।
‘सरकारले तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल घटाउने निर्णय गरेपछि बजारमा तेलको मूल्य घटेको छ,’ फुँयालले भने, ‘लिटरमा कम्तीमा २० देखि बढीमा ३० रुपैयाँसम्म तेलको मूल्य घटेको छ।’ अमृत, डाइमण्ड लगायतका ब्राण्डका तेलको मूल्य घटेको फुँयालले बताए।
एक महिना अघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४६ रुपैयाँमा झरेको छ। २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ। यस्तै २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्यूनतम् २१८ रुपैयाँसम्म झरेको छ।
नेपाल वनस्पति घ्यु तेल उत्पादक संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावटका कारण खाने तलेको मूल्यमा उच्च गिरावट देखिन थालेको छ। संघका अध्यक्ष सन्दीप अग्रवालकाअनुसार जेठयता मात्रै खाने तेलको मूल्य लिटरमा ७० रुपैयाँसम्मले घटेको छ। तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटेका कारण नेपाली बजार पनि घटेको अध्यक्ष अग्रवालले बताए।