सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिडपछि चलायमान बन्दै पर्यटन

२०७९ असोज २, ०१:१३ खबर संवाददाता

काठमाडौंः कोभिडपछि समग्र पर्यटन क्षेत्र चलायमान भएको छ। अगष्टसम्म ३ लाख २६ हजार ६ सय ६७ पर्यटक नेपाल भित्रिएका छन्। सन् २०१९ को तुलनामा ५६ प्रतिशतले पर्यटन आवागमन सुधार भएको नेपाल पर्यटन बोर्डको तथ्यांक छ। 

सन् २०१९ अगस्टमा ७३ हजार ८ सय १४ जना पर्यटक नेपाल भित्रिएका थिए। २०२० अगस्टमा २ सय ५६ र २०२१ को अगस्टमा ५ हजार ९ सय १७ पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका थिए। अगष्टमा मात्रै ४१ हजार ३ सय ४ पर्यटक नेपाल भित्रिएका छन्। यो अवधीमा सबैभन्दा धेरै १६ हजार १४७ भारतीय पर्यटक नेपाल आएका छन्। यो तथ्यांक हवाइमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकको मात्रै हो। 

खुला सिमानाका कारण स्थलमार्गबाट पनि भारतीय पर्यटक नेपाल आउँछन्। एकिन तथ्यांक नभए पनि स्थलमार्गबाट वार्षिक १५ देखि २० पर्यटक भित्रिने बोर्डले जानकारी दिएको छ। स्थल तथा हवाई मार्ग दुवैबाट बढीभन्दा बढी भारतीय पर्यटक नेपाल भित्र्याउनमा केन्द्रित रेहेको सहसचिव बुद्धिसागर लामिछाने बताउँछन्।

भारतीय बजार नेपालको प्रमुख स्रोत बजार हो। वार्षिक २ लाखको हाराहारीमा भारतीय नेपाल घुम्न आउँछन्। नेपाल भारतबाट बढी धार्मिक पर्यटक आउने गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा।धनञ्जय रेग्मी बताउँछन्। त्योबाहेक मनोरञ्जन र साहसिक पर्यटनका लागि पनि आउने गर्दछन्। उनीहरूले प्रतिव्यक्ति दैनिक ४६ डलर खर्च गर्ने र औसत बसाइ ४।८ दिन भएको रेग्मीले जानकारी दिए। कोभिडमा केही घटे पनि भारतीय पर्यटक २०१९ भन्दा बढी यो वर्ष भित्रिने रेग्मीको भनाइ छ। 

कोभिडअघि वार्षिक २ देखि ३ करोड भारतीय घुम्न बाहिर निस्किने गरेको पर्यटन विज्ञ दीपकराज जोशी बताउँछन्। भारतीय पर्यटकमा २० देखि २८ वर्ष उमेर समूहका बढी घुम्न र खर्च गर्न मन पराउने वर्गका छन्। बजार लक्षित कार्यक्रम नहुँदा भारतीय पर्यटकको संख्या बढ्न नसकेको पर्यटनमा आबद्ध संस्थाको भनाइ छ। नेपालको बजारीकरण परम्परागत भएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडाल बताउँछन्। ‘ब्रोसर बाड्नेभन्दा प्रचारात्मक कार्यक्रम अरू हुँदैन। बजार प्रबद्र्धनात्मक औजारलाई प्रयोग गर्नुपर्छ। 

पर्यटकमैत्री अनुदान ल्याउन जरुरी छ,’ उनले भने। सिनेमा, वेडिङ, माइज पर्यटन, मनोरञ्जनअन्तर्गत क्यासिनोलगायतको नेपालमा ठूलो सम्भावना भएको बुडालले बताए। तर, त्यस्तो बजारीकरण र पूर्वाधार नभएको उनले बताए। एकद्धार प्रणाली, सहि स्थानमा सही पूर्वाधार पर्यटनमैत्री नीतिजस्ता विषयमा सरकारले ध्यान दिनुपर्ने उनी बताउँछन्। भारतीय भनेर हेप्ने प्रवृत्तिलाई हटाउन जरुरी रहेको उनीहरूको भनाइ छ। नेपालले सेगमेन्टअनुसार बजारीकरण गर्न नसकेको ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपालका अध्यक्ष निलहरी बास्तोलाको भनाइ छ। धार्मिक पर्यटनलाई मात्र बढी लक्षित भएर अन्य क्षेत्रलाई वास्ता नगर्दा भारतीय पर्यटक बढ्न नसकेको उनको भनाइ छ। त्यसमा सरकारी निकायले गृहकार्य गर्नुपर्ने उनी बताउँछन्। 

भारतबाट आउने पर्यटनलाई डाइभर्सिफाइड गर्न जरुरी भएको पर्यटन विज्ञ जोशीको भनाइ छ। भारतको सूचना प्रविधिमा काम गर्ने युवा वर्गको समूहलाई लक्षित गर्दै विकेन्ड बे्रक पर्यटन कार्यक्रम चलाउन सके संख्या बढ्ने छ। उनका अनुसार नेपालमा धार्मिकबाहेक ठूला अन्तर्राष्ट्रिय चेन होटल, अन्य पूर्वाधार तयार हुँदैछन् भन्ने सूचना प्रवाह हुन जरुरी छ। ‘देशअनुसार पर्यटकको नीति पनि फरक बनाउन जरुरी छ। हरेक देशको प्रकृति फरक हुन्छ। साथै यो उद्योगका अग्रपंक्तिमा बसेर सेवा दिनेलाई यस सम्बन्धी तालिम दिन पनि जरुरी देखिन्छ,’ जोशीले भने। 

बोर्डले यी विषयलाई मध्यनजर गर्दै भारत केन्द्रीत बजारीकरण सुरु गरेको बोर्डका प्रमुख कार्यकारी रेग्मीले जानकारी दिए। ‘नाका पर्यटन लगायतका केन्द्रमा राखेर भारतीय पर्यटन प्रबद्र्धन गर्न मात्रै करिब ५ करोड छुट्ट्याएका छौं,’ रेग्मीले भने। भारतका हरेक राज्यमा पनि प्रबद्र्धनात्मक कार्यक्रम गर्दै आइरहेका र बजार रणनीति फेरेर अघि बढेकोमा उनको जोड छ। भारतीय पर्यटनलाई केन्द्रमा राखेर नै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन क्षेत्रीय विमानस्थललाई भारतका अन्य सहरहरूसँग पनि जोड्न लागिएको मन्त्रालयमा सहसचिव लामिछानेले बताए। 

‘साहसिक पर्यटन, हनिमुन, सोसियल इभेन्ट आकर्षण गर्नुपर्छ। मनोरञ्जन क्षेत्रमा क्यासिनोदेखि सिनेमा खिच्नेसम्मलाई नेपालमा ल्याउन सकिन्छ,’ उनले भने। सरकारको बजेटले पनि हिलस्टेसनको पूर्वाधार बनाउने भनेको छ। भारतको तापक्रम बढेको बेला नेपाल हिलस्टेसन भारतीय पर्यटक ल्याउन सकिने लामिछाने बताउँछन्। 


 

कमेन्ट लोड गर्नुस