सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भूपु म्यादीलाई ‘बम्पर अफर’, आवेदनपछि सिधै अन्तर्वार्ता

२०७९ भदौ ३१, ०६:२६ रोशन भट्ट

धनगढीः मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारी तीब्र भएको छ। निर्वाचन आयोगदेखि राज्यका अन्य संयन्त्रहरु चुनावकै तयारीमा जुुटेका छन्। सुरक्षा निकाय पनि आफ्नो जिम्मेवारी पूरा गर्नतर्फ केन्द्रित भएको छ। सोही अन्तर्गत जिल्ला प्रहरी कार्यालय कैलाली पनि आफ्नो तयारी सुरु गरेको छ।

कार्यालयले पहिलो चरणमा चुनावको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर म्यादी प्रहरी छनोटका लागि आवेदन आह्वान गरेको छ। भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

‘भदौ ३० गतेदेखि आवेदन खुलेको छ। असोज ६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘१० गतेदेखि छनोट प्रक्रिया सुरु हुन्छ। आवेदन जिल्ला प्रहरीसँगै इलाकामा पनि दिन सकिने छ।’ आगामी चुनावमा आवश्यक पर्ने म्याद प्रहरी छनोटको प्रक्रिया भने विगतकै जस्तो हुने भएको छ। 

१८ वर्ष पुरा गरेर ५४ वर्ष ननाघेकाले यसमा आवेदन दिनसक्ने छन्। कैलालीमा २५ सय बढी म्यादी प्रहरी आवश्यक पर्ने अनुमान गरिएको छ। तर, केन्द्रबाट भने अहिलेसम्म आधिकारी कोटा निर्धारण भएको छैन। अहिले छनोट हुने म्यादी प्रहरीका लागि आवेदन दिन सहजता होस् भनेर इलाकामा पनि व्यवस्था गरिएको छ। 

कैलालीको हकमा जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती, इलाका प्रहरी कार्यालय सुख्खड र इलाका प्रहरी कार्यालय टीकापुरमा आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। असोज १० गतेबाट छनोट प्रक्रिया सुरु हुने बताइएको छ। आउने चुनावमा म्यादी हुनेहरुमध्ये हालै सम्पन्न स्थानीय निर्वाचनमा म्यादी भएकालाई भने विशेष ग्राह्यता दिने बताइएको छ। 

बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा म्यादी भएकालाई ग्राह्यता दिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार स्थानीय तह निर्वाचनमा छनोट भएका म्यादीले प्रमाणपत्र पेश गरेपछि सिधैं अन्तर्वार्तामा सहभागि गराइने छ। उनीहरुले शारिरिक परीक्षण लगायत लिखित परीक्षासमेत दिनु नपर्ने मापदण्ड बनाइएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जोशीले बताए।  ‘यसै वर्ष भएको स्थानीय तह निर्वाचनमा म्यादी भएकाले आवेदन दिए कुनै पनि फिजिकल गर्नु पर्दैन,’ उनले भने, ‘त्यो बेलाको प्रमणपत्र पेश गरेपछि सिधै अन्तर्वार्तामा सहभागी गराइने छ।’
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस