सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा काँग्रेसको भागमा २ निर्वाचन क्षेत्र, माओवादीलाई एक

२०७९ भदौ ३१, ०९:४०

धनगढीः प्रतिनिधि सभाको निर्वाचनका लागि कञ्चनपुर जिल्लाको बाँडफाँड भएको छ। आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सत्तागठबन्धनका पाँच दलबीच सिट बाँडफाँडमा सहमति जुटेको हो। प्रतिनिधि सभाका लागि तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा नेकपा (माओवादी केन्द्र)ले एक र नेपाली कांग्रेसले दुई क्षेत्र पाउने भएका छन्।

माओवादी केन्द्रले क्षेत्र नम्बर १ तथा कांग्रेसले क्षेत्र नम्बर २ र ३ पाउने सहमति भएको हो। नेताहरुका अनुसार माओवादी केन्द्रले क्षेत्र नम्बर १ बाट पार्टी पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री विना मगरलाई एकल सिफारिस गरेको छ। उक्त निर्वाचन क्षेत्रमा गठबन्धनका तर्फबाट माओवादी नेतृ मगर संघीय चुनाव लड्ने निश्चित भएको छ।

नेपाली काँंग्रेसबाट क्षेत्र नम्बर २ मा तीन र क्षेत्र नम्बर ३ मा दुई नेतालाई सिफारिस गरिएको छ। क्षेत्र नम्बर २ बाट पूर्वमन्त्रीसमेत रहेका एनपी साउँद, निवर्तमान जिल्ला सभापति हरिप्रसाद बोहरा र नेता प्रेम बलायर तथा क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री रमेश लेखक र गणेश सिंह नेगीलाई सिफारिस गरिएको छ।

क्षेत्र २ बाट साउँद र ३ बाट लेखकले टिकट पाउने पक्कापक्की भएको नेताहरुको दाबी छ। प्रतिनिधि सभाका तीन सिट बाँडफाँडमा सहमति गरेको गठबन्धनले प्रदेशका ६ सिटसमेतमा भने सहमति गर्न सकेको छैन। तर एकीकृत समाजवादीले दुई, माओवादीले चार र कांग्रेसले पाँच प्रादेशिक निर्वाचन क्षेत्रमा दाबी गर्दै आएका छन्।

कमेन्ट लोड गर्नुस