सुदूरपश्चिमका निर्माण व्यवसायी संकटमा
धनगढीः कञ्चनपुरका निर्माण व्यवसायी इश्वरी भट्टको भदौ पहिलो साता निधन भयो। भट्टको ह्दयघातका कारण निधन भएको चिकित्सकले बताएका थिए। निर्माणको काम गर्न नसकेर कारबाहीमा परेको तनावले उनलाई हृदयघात भएको बताइएको छ।
एउटा ठेक्काबाट मात्र उनलाई झण्डै १२ करोडको नोक्सानी भएको बुझिएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडक योजना कार्यालयका प्रमुख रामबहादुर गुरुङले भट्टलाई ११÷१२ करोडको नोक्सानी भएको बताए।
यसरी देशमा भएको आर्थिक संकटको प्रत्यक्ष मारमा निर्माण व्यवसायीहरु परेका छन्। मूल्य वृद्धिका कारण निर्माण कम्पनीहरुले काम गर्न सकेका छैनन्। काम नगरेका निर्माण कम्पनीलाई भुक्तानी दिइएको छैन। सम्झौताको समय सिमाभित्र काम नगर्ने निर्माण कम्पनीहरुलाई सरकारी कार्यालयहरुले कारबाही गर्दा निर्माण व्यवसायीहरुलाई तनाव हुने गरेको छ।
कैलालीका निर्माण व्यवसायी महेशकुमार महराले निर्माण व्यवसायीहरुलाई मूल्य वृद्धिले हैरान बनाएको बताए। निर्माण व्यवसायीहरु काम गर्नसक्ने अवस्थामा नरहेको उनले बताए। सरकारी पक्षबाट मूल्य समायोजन हुनुपर्ने उनको माग छ।
हाल प्रतिकिलोग्राम ८० रुपैयाँमा पाइने फलामको रडको मूल्य एक सय ४० सम्म पुगेको छ। अन्य निर्माण सामग्रीको पनि मूल्य बढेको छ। बैंकहरुबाट निर्माण कम्पनीहरुले ऋण पाएका छैनन्। निर्माण सामग्रीका व्यापारी र सरकारी कार्यालयको चेपुवामा निर्माण व्यवसायीहरु परेको हुन्।
निर्माण व्यवसायी संघ, कैलालीका अध्यक्ष टेकबहादुर मल्लले निर्माण व्यवसायीहरुले लामो समयदेखि मूल्यवृद्धिको विरोध गरेपनि सरकारले नसुनेको बताए। उनले भने, ‘हामी विरोधमा छौ। मुल्यवृद्धि धेरै भएको छ। सरकारले मूल्य समायोजन गर्नुपर्छ।’ जिल्ला दररेटमा समेत फरक परेको भएपनि सरकारले बेवास्ता गरेको निर्माण व्यवसायीहरुको गुनासो छ।