डडेल्धुराका ५ स्थानीय तहमा डेंगु
डडेल्धुरा: डडेल्धुरामा पनि धमाधम डेंगु बिरामी फेला पर्न थालेका छन्। जिल्लाका ५ स्थानीय तहमा डेंगु फैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ। अमगरढी नगरपालिका, अजयमेरु गाउँपालिका भागेश्वर, गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा डेंगीका बिरामी फेला परेका हुन्।
अहिलेसम्म डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा २८ जनामा डेंगु देखिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले बताए। उनका अनुसार २८ जनामध्ये १६ जना डडेल्धुराका छन् भने बाँकी ९ जना बैतडी र ३ जना डोटीका छन्।
१६ मध्ये सबैभन्दा बढी अमरगढी नगरपालिकाका ९ जनामा डेंगु देखिएको छ। भागेश्वर गाउँपालिकामा ३, गन्यापधुरा र नवदुर्गामा २÷२ तथा अजयमेरु गाउँपालिकामा एक जनामा डेंगु देखिएको भट्टले बताए। डेंगुको संक्रमण फैलिएपछि नियन्त्रणका लागि बासस्थान पत्ता लगाएर लार्भा मार्ने अभियान सञ्चालनबारे छलफल भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।