धनगढी डुबानको समस्या सल्टाउन डिपीआर तयार, बजेटको खोजीमा उपमहानगर
धनगढीः सुदूरपशिचमको अस्थायी राजधानी धनगढी हरेक वर्षायाममा डुबानमा पर्दै आएको छ। धनगढीका सार्वजनिक खोलानालामा अतिक्रमण तथा नयाँ संरचना निर्माणका कारण धनगढी डुबानमा पर्दै आएको अध्ययनले देखाएको छ।
निर्माणाधीन मोहनापुल–अत्तरिया ६ लेन सडकका कारण धनगढीको वडा नम्बर २, ३, ४ र १३ डुबानमा पर्दै आएको गुनासो स्थानीयले गर्दै आएका छन्। सोही समस्यालाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकाको आग्रहमा सडक विभागले समाधानका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पारेको छ।
मोहनापुल–अत्तरिया ६ लेन सडक योजना कार्यालयका प्रमुख रामबहादुर गुरुङले डिपीआर उपमहानगरपालिकालाई बुझाउने बताएको हो। उनले भने, ‘धनगढी बजार क्षेत्रको पानी व्यवस्थापनका लागि मास्टर प्लान बनाएका छौं। उपमहानगरपालिकाले रिपोर्टको आधारमा सहरी विकासबाट हुन्छ कि ढल निकास संस्थानबाट हुन्छ कि प्रदेश सरकारबाट हुन्छ। या त आफ्नो स्रोतबाट हुन्छ। स्रोत जुटाएर त्यो काम चाँहि गर्नुपर्छ।’
उपमहानगरले भने विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) अनुसार बजेटको जोहो गर्न सकेको छैन। धनगढी उपमहानगरपालिकाका सिनियर डिभिजन इन्जिनियर द्धीजराज भट्टले बजेटको जोहो नभएको बताए। ‘तीन वडाको पानी व्यवस्थापन गर्नेगरि योजना बनाएका छौ’, उनले भने, ‘यहाँबाट हामीले सडक विभागमा, शहरी विकास मन्त्रालयमा र प्रधानमन्त्री कार्यालयबाट पनि अनुरोध गरेको छ बजेटका लागि। अर्थ मन्त्रालयले पनि हेरिरहेको छ।’
मोहनापुलदेखि अत्तरियासम्मको डिपीआर तयार भएपनि धनगढी उपमहानगरपालिकाले गेटासम्म मात्र काम गर्ने योजना बनाएको छ। तर, आवश्यक ३५ करोड बजेटको जोहो गर्न उपमहानगरपालिकाले सकेको छैन। धनगढी उपमहानगरपालिकाले प्रधानमन्त्रीको कार्यालय, सहरी विकास मन्त्रालय, सडक विभाग तथा अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ। तर कुनै पनि निकायबाट बजेट पाएको छैन। ‘अबौं रुपैयाँ चाहिने देखिएको छ। हामीले ३५ करोडको काम गर्न खोजेका छौं। सडक क्षेत्रको पानी मोहना वा नजिकको खोलासम्म लैजाने योजना छ,’ द्धीजराज भट्टले भने।
मोहनापुल–अत्तरिया ६ लेन सडक १४ किलोमिटरको छ। उक्त सडकका कारण धनगढीमा डुबान झनै बढेको स्थानीयको गुनासो छ। धनगढीको वडा नम्बर ३ विशालनगर क्षेत्रको डुबान समस्याको प्रमुख कारण ६ लेन सडक नै भएको दाबी गरिएपछि अध्ययन गरिएको थियो। उक्त ६ लेन सडकका कल्भडको पानी पनि रोक्नेगरी संरचना निर्माण गरिएका छन्।
सडक विभागले तयार पारेको डिपीआरले सडक क्षेत्रको पानी मोहना नदी तथा कैलाली खोलामा मिलाउने उपायाहरु देखाएको छ। डिपीआरअनुसार काम भए, धनगढीको डुबान समस्या समाधान हुने दाबी गरिएको छ।