सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीले हातपात गरेको कञ्चनपुरकी एक महिलाको आरोप, प्रहरी भन्छ– झुटो हो

२०७९ भदौ २७, ०६:४५ रक्षा भट्ट

धनगढी: कञ्चनपुरकी एक महिलाले प्रहरीले आफूमाथि हातपात गरेको आरोप लगाएकी छिन्। जिल्लाको बेलौरी नगरपालिका–६ बस्ने ज्ञानुदेवी ऐरले आफूमाथि प्रहरीले हातपात गरेको आरोप लगाएकी हुन्। 

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक(इन्सपेक्टर) दानसिंह भण्डारी र महिला प्रहरी कालिका विष्टले गालीगलौज गर्दै २३ गते राति आफूमाथि हातपात गरेको उनी बताउँछिन्। हातपातपछि घाइते भएको बताउँदै उनले तीन दिन धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गरेको बताइन्। आइतबार मात्रै अस्पतालबाट डिस्चार्ज भएको ऐरले बताइन्। 

ज्ञानुदेवी ऐर आफ्ना आमा बुवासँग बेलौरीमा बस्दै आएकी छिन्। उनका २० र १९ वर्षीय दुई छोरा छन् भने श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन्। उनका सासूससुरा पहाड बस्दै आएका छन्। 

उनका अनुसार २३ गते राति आमाबुवासँग घरायसी विवाद भएको थियो। सधैँजसो आफ्ना आमाबुवासँग विवाद भइरहने उनी बताउँछिन्। ‘उहाँहरु र म बीच यो पटक मात्रै हैन पहिलेदेखि नै झगडा भइरहेकै हो,’ उनी भन्छिन्, ‘तर यो पटक पुलिसले ममाथि दुव्र्यवहार गरेको छ।’ 

त्यो दिन राति आमाबुवाले आफूलाई चुकुल लगाएर कोठाभित्र थुनेको उनी बताउँछिन्। ‘मलाई आमाबुवाले चुकुल लगाएर कोठाभित्र रातभर थुने। महिला प्रहरी कालिका विष्टसहित पाँच जना प्रहरी मेरो घरबाहिर थिए। मैले गुहार मागे तर कोही पनि ढोका खोल्न आएनन्,’ उनले भनिन्। 

आफ्ना आमाबुवाले मदिरा बनाउने बेच्ने गरेको र प्रहरीहरु पनि राति त्यहीँ मदिरा पिउन आउने गरेको उनले सुनाइन्। ‘उहाँहरुलाई मदिरा बनाउन उक्साउने पनि प्रहरी नै हुन्। मदिरा पिएर झगडा गर्ने मेरा आमाबुवाको पहिलेदेखिको बानी नै हो,’ उनी भन्छिन्। 

राति ढोका खोल्नका लागि नगरपालिकाका मेयर, उपमेयरलाई समेत फोन गरेको उनी बताउँछिन्। ‘मेरी आमाले सहयोगका लागि कोही आए भने पनि गाली गर्नुहुन्छ,’ उनले भनिन्, ‘त्यसैले पनि कोही सहयोगका लागि आउन मान्दैनन्।’ त्यस दिन पनि चुकुल खोल्न कोही नआएको ज्ञानुदेवीको भनाई छ। 

भोलिपल्ट २४ गते बिहान मात्रै प्रहरी आएर ढोका खोलेको उनले बताइन्। प्रहरीले ढोका खोल्न दवाव दिन थालेपछि ढोका खोलेर आफू बाहिर निस्केको उनले बताइन्। आमाले प्रहरीले घरबाट निकाल्न भनेको छ भन्दै गाली गरेको उनी बताउँछिन्। 

महिला प्रहरी कालिका विष्टलाई आफूले मेरी आमासँग रक्सी माग्ने काम नगर्नू भनेर मात्रै भनेको उनी बताउँछिन्। तर, विष्टले आफूलाई अश्लील गालीहरु गरेको उनको आरोप छ। महिला प्रहरी कालिकाले इन्सपेक्टर भण्डारीसामू आफ्नो जागिर खाइदिन्छु भन्दै गालीगलौज गरेको भनी कुरा लगाएको उनी बताउँछिन्। 

झगडा नगर्नू भनेर गइरहेका इन्सपेक्टरले आफूलाई यता आऊ भनी बोलाएको र कुट्छन् कि भनेर आफू भित्र भागेको उनी बताउँछिन्। ‘म भित्र भागेपछि इन्सपेक्टरले मेरो घाँटी च्याप्यो, कालिकाले कपाल समाती अनि अन्य तीन जनाले हात समाते। म नाइटी (राति लगाउने लुगा)मा थिएँ। मेरो लुगा पनि च्यातियो। मेरा हात पछाडि गरेर हतकडी पनि लगाए,’ उनले भनिन्, ‘मैले मेरो गल्ती देखाउनु अनि हतकडी लाउनु भनेँ। पछि उनीहरुले हतकडी खोले।’

महिला प्रहरी कालिकाले ‘यसलाई भित्र हालौँ’ भन्दै दुव्र्यवहार गरेको उनी बताउँछिन्। इन्सपेक्टर भण्डारीले हाम्रो कुरा धेरै ठाउँमा गर्ने गर्या छौ, अब नगर्नू भनेको उनी बताउँछिन्। जाँदाजाँदै इन्सपेक्टर भण्डारीले ‘राति खानासना खाएर हाम्रो अफिस एक्लै आउनुस्, बसौँला गफगाफ गरौँला,’ भनेको उनको आरोप छ। ‘म झन् डराएँ, मैले यसबारे कञ्चनपुरका एसपी र डीएसपीलाई पनि जानकारी गराएकी छुँ,’ उनले भनिन्, ‘तर अहिले आएर इन्सपेक्टरले कुनै दुव्र्यवहार नगरेको भनिरहेका छन्।’ 

आइतबार रातिको कुराकानीमा ऐरले अस्पतालबाट डिस्चार्ज भएपछि आफू आफन्तकोमा बसेको र डरले घर जान नसकिरहेको बताएकी थिइन्। मोबाइलमा हातपात, गालीगलौज गरेको भिडिओ पनि बनाएको तर केही भिडिओ प्रहरीले मोबाइल खोसेर डिलिट गरेको र एक/दुई भिडिओ आफूसँग अझै सुरक्षित रहेको उनी बताउँछिन्। 

सबै आरोप झुटोः प्रहरी
यता, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) दानसिंह भण्डारीले भिडिओ डिलिट गरेको कुरा सत्य भएको बताएका छन्। ‘यो सत्य हो, अनुमतिबिना भिडिओ बनाउन पाइँदैन भनेको हुँ,’ उनले भने, ‘उन(ज्ञानु)ले भिडिओलाई इडिट गरी भोलि जे जस्तो पनि बनाउन सक्छिन्। भिडिओ मेरो, आवाज अर्कैको गरेर नि बनाउन सक्छिन् भनेर मैले उनकोबाट डिलिट गर्न लगाएको हुँ। सबै भिडिओ आफूसँग राखेको छुँ।’ 

प्रहरी निरीक्षक भण्डारीका अनुसार बुवाआमा र छोरीबीचको झगडा धेरै पुरानो हो। उनीहरुबीच ५/६ वर्षदेखि झगडा भइरहने गरेको छ। विवाद सम्पति सम्बन्धीको भएको उनी बताउँछन्। 

उनले झगडा छुटाउने बेला चुराले ऐरलाई सानो काटिएको बताए। आफूहरुले ऐरमाथि कुनै हातपात तथा दुव्र्यवहार नगरेको प्रहरी निरीक्षक भण्डारी बताउँछन्। आफूहरु ढोकाको चुकुल खोल्न गएका र सम्झाएर आएका उनको भनाइ छ। बाँकी सबै आरोप मात्र भएको उनको भनाइ छ। प्रहरी निरीक्षक भण्डारी ती महिला आफैले आफ्नो लुगा च्यातेर आरोप लगाएको बताउँछन्।

रक्षा भट्ट दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछिन्।

कमेन्ट लोड गर्नुस