सुदूर नेपाललाई विश्वसँग जोड्दै

जब ‘ग्याङ रेप’मा परेकी बालिकाले स्यानिटाइजर पिइन् 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ भदौ २७, ०४:०१ आशिष मल्ल

धनगढी: सुदूरपश्चिममा गौराको माहोल तातेको थियो। त्यसै क्रममा यही भदौं २१ गते कैलालीको घोडाघोडीकी एक बालिका देउडा हेर्न भनेर घरबाट निस्किइन्। राति घोडाघोडी बजारमा भइरहेको देउडा हेर्दै गरेकी ती १५ वर्षीया बालिकालाई एक चिनजानकै युवकले खाजा खान जाने प्रस्ताव राखे। 

चिनैकै साथीले खाजा खान जाऊ भनेपछि उनले नाईंनास्ती गर्न सकिनन्। तर खाजा खाने भनेर उनलाई ती युवकसहित अन्य ४ जनाले मदिरा (बियर) खुवाएका थिए।

होटलमा खाइपिइ सकेर बालिका साथीसँग घर हिँडेकी थिइन्। तर, उनीसँगै भएकी अर्की साथीले घरनिर छाडेपछि एक युवक(सँगै खाजा खाएकामध्ये) आएर  बालिकालाई आफ्नो घरमा जान आग्रह गरे। ती युवकको घर पुगेपछि बालिकालाई बाहिरबाट ढोका थुनेर अन्य तीन जना साथीहरु बोलाएर पालैपालो बालिकालाई बलात्कार गरे। 

बलात्कृत भएपछि मानसिक रुपमा विक्षिप्त बनेकी बालिकाले भोलिपल्ट साथीलाई घटनाबारे सुनाएकी थिइन्। उनकी साथीले प्रहरीमा उजुरी गर्न आग्रह गरे पनि बदनाम हुने भन्दै बालिका प्रहरीकहाँ पुगिनन्। 

त्यसपछि पूर्णरुपले टुटेकी उनले देह नै त्याग गर्ने निर्णय लिइन्। भदौ २३ गते उनले आत्महत्या गर्न स्यानिटाइजर पिएकी थिइन्। स्यानिटाइजर पिएर सडकमै बेहोस भएर लडेको अवस्थामा फेला परेपछि उनलाई अस्पताल लगिएको थियो। अस्पतालमा उपचारपछि उनको होस् खुल्दा उनले आफूमाथि घटेको घटनाबारे बताएकी थिइन्। 

त्यसपछि चार जनाले सामूहिक रूपमा बलात्कार गरेको भन्दै ती बालिकाका तर्फबाट इलाका प्रहरी कार्यालय सुखडमा भदौ २३ गते नै जाहेरी दर्ता भयो।  आरोप लागेका चार जनामध्ये तीन जनालाई प्रहरीले २४ गते नै पक्राउ गरिसकेको छ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–१ का १८ वर्षीय हिमाल सापकोटा सोही ठाउँका २० वर्षीय ऐशु सापकोटा र घोडाघोडी नगरपालिका–२ का १८ वर्षीय बसन्त बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए। आरोपितमध्ये एक जना अझै फरार रहेको र उनको खोजी भइरहेको  डीएसपी जोशीले बताए। 

(यो सामग्री पीडितले दिएको जाहेरी र प्रहरी अनुसन्धानको आधारमा तयार पारिएको हो।)


 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस