सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको शैनडाँडामा मेलाको रमझम 

२०७९ भदौ २६, ०१:२० खबर संवाददाता

धनगढीः इन्द्रजात्राको दिनदेखि सुरु हुने बझाङस्थित खप्तडछान्ना गाउँपालिकाको पाटादेवलमा लाग्ने सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक एवं ऐतिहासिक शैनडाँडा मेलाको रौनक सुरु भएको छ। स्थानीयवासीले शैनडाँडा मेलालाई भव्य र व्यवस्थित बनाउन विभिन्न कार्यक्रम आयोजना गरेर मनाउने तयारी गरेसँगै यस क्षेत्रमा उत्साह छाएको हो। 

कोरोना महामारीले दुई वर्ष सामान्य पूजाबाहेक बृहत् रूपमा बनाउन नपाएको शैनडाँडा मेला यस वर्ष भने धुमधाम तयारीका साथ मनाउन थालिएको छ। सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडको खापर दह (खप्तड ताल) बाट डोला ल्याई पाटादेवलको खापरमाण्डौँमा मनाइने यो जात्रा इन्द्रजात्राका दिनदेखि सुरु हुन्छ।

इन्द्रजात्राभन्दा अघिल्लो पूर्णिमाका दिन खप्तड तालनजिकै रहेको खापर देवताको मन्दिरमा पूजाआजा गरेपछि यो जात्रा प्रारम्भ भएको मानिन्छ। जसलाई स्थानीय भाषामा ‘उकालु’ भन्ने चलन छ। त्यसको एक महिनापछि स्थानीय धामीझाँक्री, पुजारी, खापरका करिया र खापरको घोडासमेत लिएर खप्तड तालनजिकै रहेको खापर मन्दिरमा रातभर जाग्राम बसी पूजाआजा गरी बिहान देवता (महारानी) लाई बिहे गरी डोलीमा चडाई खप्तडछान्ना गाउँपालिका–६ मा पर्ने पाटादेवलमा रहेको खापरमाण्डौँमा भित्र्याई धुमधामसँग मेला उत्सव गरी बनाउने चलन छ। 

जिल्लाको चर्चित र प्रसिद्ध मेलामध्ये शैनडाँडा मेलाको व्यवस्थापन, प्रचारप्रसार तथा भव्य रूपले मनाउन यस वर्ष स्थानीय सरकारको हैसियतले खप्तडछान्ना गाउँपालिकाले अगुवाइ गरेको छ। यस वर्ष शुक्रबारदेखि सुरु भएको जात्रा शनिबार खप्तडको खापर दहबाट डोला ल्याई मेला लाग्ने स्थान पाटादेवलको खापरमाण्डौँमा भित्र्याइएको छ। 

डोला भित्र्याउँदा यस क्षेत्रका धामीझाँक्री काम्ने, कन्या केटी तथा खापर देवताको घोडासमेत काम्ने भएकाले शैनडाँडाको डोला ल्याउँदाको अवस्था यस जात्राको प्रमुख आर्कषण रहेको खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकायाले बताए। उनले जात्रामा पूर्ण रूपले मदिरा निषेध गरेको जानकारी दिए। 

कमेन्ट लोड गर्नुस