चर्चित खेलाडीमाथि बलात्कारको आरोपः रोनाल्डोदेखि नेयमार र माइक टायसनसम्म
काठमाडौंः यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको उजुरी परेको छ। कुनै खेलाडीलाई बलात्कारको उजुरी परेको यो पहिलो अवसर होइन। विश्व खेलकुदमा खेलाडीहरूमाथि धेरै पटक बलात्कारको आरोप लागेका छन्।
फुटबलदेखि लिएर अन्य खेलका खेलाडीहरुमाथि बलात्कारको उजुरी परेका छन्। विश्व फुटबलमा चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो, नेयमारजस्ता खेलाडीहरूसमेत यसबाट अछुतो रहन सकेका छैनन्।
रोनाल्डो
पोर्चुगलका स्टार खेलाडी रोनाल्डोमाथि सन् २०१० मा बलात्कारको आरोप लागेको थियो। युनाइटेडका स्टार खेलाडी रोनाल्डोलाई मोडल क्याथरीन मेयोगोले बलात्कारको आरोप लगाएकी थिइन्। मेयोगोले सन् २०१८ मा ‘मी टू’ आन्दोलनको क्रममा उनलाई रोनाल्डोले बलात्कार गरेको दाबी गरेकी थिइन्। उनले रोनाल्डोलाई नाइट क्लबमा भेटेको भोलिपल्ट १३ जुन २००९ मा लास भेगासमा बलात्कारको रिपोर्ट गरेकी थिइन्। अहिले रोनाल्डो उक्त केसबाट सफाइ पाइसकेका छन्।
नेयमार
ब्राजिलका फुटबल खेलाडी नेयमार जुनियरलाई पेरिसको एक होटलमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा जुन २०१९ मा मुद्दा लगाइएको थियो। यो कुरा धेरै सातासम्म ब्राजिल र अन्तर्राष्ट्रिय चर्चामा आयो। इन्स्टाग्राममा पोस्ट गरिएको सात मिनेटको भिडियोमा पेरिस सेन्ट–जर्मेनका खेलाडीले आफूमाथि बलात्कारको आरोप लागाइएको थियो। नेयमारले भने आफू र महिलाबीच ह्वाट्सएपमा मेसेज र तस्बिर आदानप्रदान मात्र भएको दाबी गरेका थिए। सो पाउलोको महान्यायाधिवक्ताको कार्यालयका अनुसार प्रमाणको अभावमा मुद्दालाई रोकिएको थियो।
डेभिड डि गेया
विभिन्न रिपोर्टहरूका अनुसार सन् २०१६ मा म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे गियालाई यौन दुर्व्यवहारको मुद्दा परेको थियो। सन् २०१२ मा म्याड्रिडको एक होटलमा दुई स्पेनी यू–२० खेलाडी र अर्को दुई महिलासँग भेट गराइ दिने कुरा भएको भन्दै एक साक्षीले आरोप लगाएका थिए। डे गियाले भने उक्त आरोपलाई अस्वीकार गरेका थिए।
करिम बेन्जेमा
रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जेमा एक जना फ्रान्सेली फुटबलरलाई ब्ल्याकमेल गर्न सेक्स टेप प्रयोग गर्ने षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर भएका थिए।
विवादले फ्रान्सेली फुटबलमा धरै आलोचना भएको थियो। त्यसै समय बेन्जिमा टिमबाट निकालिएका थिए। अर्कोतर्फ, बेन्जेमाले लगातार आरोपहरूको खण्डन गर्दै आएका छन्। सन् २०१५ मा फ्रान्सको बन्द प्रशिक्षणमा रहेको समय उनीविरुद्ध यस्तो आरोप लागेको थियो। जसमा म्याथ्यु वाल्बुएनाले पनि मिसिएका थिए । त्यसपछि दुबै खेलाडी टिम बाहिर गएका थिए । बेन्जिमा गत सिजनदेखि मात्र राष्ट्रिय टोलीमा फर्केका थिए।
माइक टायसन
प्रख्यात बक्सर माइक टायसनले १९९१ मा आफ्नो करियरको राम्रो समयमा बलात्कारको आरोपको सामना गरे। टायसनलाई तत्कालीन १८ वर्षीया मिस ब्ल्याक रोड आइल्याण्ड डेसिरी वाशिंगटनलाई बलात्कार गरेको आरोपमा दोषी ठहर गरिएको थियो। त्यसपछि उनलाई छ वर्षको जेल र चार वर्षको प्रोबेशनको सजाय सुनाइयो। उनी तीन वर्ष जेलमा बसे र सन् १९९५ मा रिहा भए। उनले आफ्नो बक्सिङ करियर पुनः सुरु गरे । उनी दी ह्याङ्गओभर जस्ता चलचित्रहरूमा देखा परे।