९६ वर्षीया बेलायतकी महारानीको स्वास्थ्य स्थिति गम्भीर
एजेन्सी: स्कटल्याण्डस्थित बालमोरल दरबारमा विदामा रहेकी बेलायतकी महारानी एलिजावेथ द्वितियाको स्वास्थ्य बिग्रिँदै गएको बकिङहम दरबारले विज्ञप्ति मार्फत जानकारी दिएको छ। ९६ वर्षीया महारानीका निकट परिवार सदस्य धमाधम बालमोरल गएको वा बाटोमा हुनुले पनि उनको स्थिति गम्भिर रहेको आशंका बढाएको छ।
महारानी अहिले चिकित्सकको निरन्तर निगरानीमा रहेको बकिङहम दरबार स्रोतले वक्तव्यमार्फत जानकारी दिएको छ। वक्तव्यमा विहानको परीक्षणपछि चिकित्सकहरुले महारानीको स्वास्थ्य स्थिति चिन्ताजनक रहेको बताएको उल्लेख छ। महामारी सामान्यता गृष्ममा बालमोरल दरबारमै बिताउने गर्थिन्।
सोही परम्पराअनुरुप उनी अहिले स्कटल्यान्डमा पर्ने बालमोरल दरबारमा छिन्। मंगलबार उनले सोही दरबारबाटै नयाँ प्रधानमन्त्रीका रुपमा लिज ट्रसलाई भेटेकी थिइन्। प्रधानमन्त्री लिज ट्रसले ‘महामारीको स्वास्थ्यप्रति सम्पूर्ण देश गहिरो चासो दिइरहेको’ प्रतिक्रिया दिएकी छन्। महारानी एलिजाबेथ द्वितीयाका चार छोराछोरी, आठ नाति नातिना र १२ जना पनाती पनातीना छन।
उनका छोराछोरी र नाति नातिनाको विवरण तल दिइएको छ:
१. राजकुमार चाल्स, प्रिन्स अफ वेल्स : महारानीको जेठो सन्तान र सिंहासनका उत्तराधिकारी हुन् राजकुमार चाल्स। उनी क्यामिला, डचेस अफ कर्नवालसँग विवाहित छन्। उनको पहिलो श्रीमती राजकुमारी डायनाबाट विलियम र ह्यारी गरी दुई छोरा छन्।
२. राजकुमारी एनी, प्रिन्सेस रोयल : रानीको दोस्रो सन्तान र एकमात्र छोरी हुन् एनी। उनी टिमोथी लरेन्ससँग विवाहित रहेकी छन्। उनको पहिलो पति क्याप्टेन मार्क फिलिप्सबाट पिटर फिलिप्स र जारा टिन्डल नामका दुई सन्तान छन्।
३. प्रिन्स एन्ड्र्यू, ड्युक अफ योर्क : महारानीको तेस्रो सन्तान हुन् एन्ड्रयु। उनका पूर्व पत्नीबाट योर्कको डचेस–राजकुमारी ब्रिटिस र राजकुमारी युजेनी गरी दुई छोरीहरू छन्। उनको न्युजनाईटको विवादास्पद अन्तरवार्तापछि उनले शाही पद परित्याग गरे।
४. प्रिन्स एडवर्ड, अर्ल अफ वेसेक्स : प्रिन्स एडवर्ड महारानीका कान्छो छोरा हुन्। उनी काउन्टेस अफ वेसेक्स सोफीसँग विवाहित छन्। र उनका लुइस र जेम्स माउन्टबेटन–विन्डसर गरी दुई सन्तान छन्। माथि उल्लेखित सन्तानहरुमध्ये प्रिन्स चाल्स र उनकी श्रीमती क्यामिला महारानीले आराम गरिरहेको बालमोरल दरबार पुगिसकेका छन् भने आउन बाँकी सन्तानहरु बाटोमा रहेको बीबीसीले लेखेको छ।
महारानीका एक मात्र छोरी राजकुमारी एनी बालमोरल पुगिसकेको दरबारले बताएको छ। त्यस्तै कान्छो छोरा एड्वार्ड उनकी श्रीमतीसहित र एन्ड्रयु बाटोमा रहेको बताइएको छ। त्यसबाहेक राजकुमार चाल्सका जेठो छोरा विलियम पनि बाटोमा रहेका र उनकी श्रीमती क्याथरिन महारानीसँगै पुगिसकेकी छन्।
ह्यारी र मेघन स्कटल्याण्ड जाँदै
ड्युक एण्ड डचेस अफ ससेक्स पदावी पाएका क्रमशः ह्यारी र मेघन पनि विरामी हजुरआमालाई भेट्न स्कटल्याण्ड फर्किदै गरेको तिनका प्रवक्ताले बताए। केही वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका यी दम्पति पछिल्ला दिनमा बेलायतमा विभिन्न कामले व्यस्त छन्। अहिले भने उनीहरु जर्मनमा थिए, र त्यहीबाट हजुरआमा भेट्न जाँदैछन्। ह्यारी र मेघन दरबारसँग खटपटपछि अमेरिका बस्दै आएका छन्।