सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरी नगरपालिकालाई बाटो कब्जा गरी बनाइएका संरचना हटाउन ज्ञापन पत्र

२०७९ भदौ २२, १०:५४ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको बेलौरीमा सार्वजनिक बाटो कब्जा गरी बनाइएका संरचना हटाउन नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको छ। बेलौरी नगरपालिका-६ नहर पश्चिम विद्यानगर जाने सरकारका नाममा दर्ता स्रेस्ता कायम रहेको सार्वजनिक बाटो नक्सा सिट नं. ०२६–८३१ कि.न. ५५७ को १८२ वर्ग मिटर जग्गा कब्जा गरी श्री सिद्धार्थ बोर्डिङ स्कुलले संरचना बनाउँदा बाटोको विकासमा अवरोध पुगेको ज्ञापन पत्रमा उल्लेख छ। 

यस सम्बन्धमा २०७८ वैशाखदेखि यसै वर्ष आषाढसम्म ६ नम्बर वडा कार्यालयले तहाँ विद्यालय वा व्यक्ति कसैको स्वामित्व भए सप्रमाण उपस्थित हुन ३ पटक पत्राचार गर्दा समेत उपस्थित नभई, कुनै उत्तर पनि नदिई, संरचना पनि नभत्काई वडा सरकारलाई अटेर गरेको हुँदा आवश्यक कारबाहीका लागि नगरपालिकालाई अनुरोध गर्दा नगरपालिकाले हाल २०७९ भदौसम्म कानुन विपरीत संरचना बनाउने संस्थालाई कुनै चेतावनीसम्म पनि नदिनुले के पुष्टि गर्दछ ? भन्दै ज्ञापन पत्रबाटै प्रश्न समेत गरिएको छ।

झण्डै २ वर्षदेखि नगरपालिका कार्यालयमा उपस्थित भई समस्या बारे पटक पटक जानकारी गराई समाधानका लागि अनुरोध गर्दा पनि नगरपालिकाले भने विभिन्न बहानामा समस्या यथावत् राख्नाले स्कुलसित कुनै प्रभावशाली व्यक्तित्वले विशेष सम्बन्ध स्थापित गरेको आभास भएको ज्ञापन पत्रमा लेखिएको छ। 

वडा नम्बर ६ स्थित नहर पश्चिमतर्फ सरकारको नाममा दर्ता स्रेस्ता कायम रहेको बाटाको जमिनमा श्री सिद्धार्थ बोर्डिङ स्कुलले कानुन विपरीत कब्जा गरी बनाएको संरचनालाई यही भदौ २६ गतेभित्र हटाएर नगरपालिकाको यातायात पूर्वाधार विकासको अवरुद्ध गतिलाई फुकुवा गरिदिन, उपभोक्ताहरूको झण्डै २ वर्षदेखिको निरन्तर मागलाई ढिलै भए पनि पुरा गरी पिडकलाई दण्ड र पीडितलाई न्याय भन्ने न्यायको प्रचलित सिद्धान्तको पूर्ण पालना गर्न तथा सरकारी सार्वजनिक जग्गामा कसैले पनि संरचना बनाउनु हुँदैन भन्ने कानुनको पूर्ण पालना गरी गराई उदाहरण प्रस्तुत गरिदिन ज्ञापन पत्र मार्फत नगरपालिकासँग माग गरिएको छ। साथै उक्त मागलाई आलटाल गरी बेवास्ता गरेमा यही भदौ २६ गतेपछि उपभोक्ताहरूलाई नगरपालिकाले नै सङ्घर्षको नयाँ चरणमा उत्रन बाध्य गराएको ठहरिने छ भनी उल्लेख गरिएको छ।

ज्ञापन पत्रमा उपभोक्ता प्रतिनिधि संयोजक केशव राज जोशी सहित प्रतिनिधिहरू ईश्वरबहादुर थापा, देवसिंह भण्डारी, अशोक सुवेदी, मेवाराम चौधरी, सत्यप्रकाश सिंह बुडाल, ओमबहादुर भण्डारी, रामलाल राना, भीम गैरे, रामप्रवेश राना, अशोक धिताल, पण्डी बडायक, खड्क नेपाली समेतको हस्ताक्षर रहेको छ। उक्त ज्ञापन पत्र बुझाउन नगर प्रमुख पोतीलाल चौधरीसँग समय व्यवस्थापनका लागि पछिल्लो केही दिनयता दैनिक जसो नगरपालिका धाउँदा समेत नगरपालिकामा नगर प्रमुखको अनुपस्थितिले बुधबार नगर उपप्रमुख जोगराम चौधरीलाई ज्ञापन पत्र बुझाई नगर प्रमुखसमक्ष पुर्याइदिन र आवश्यक प्रक्रिया थालनी गरिदिन अनुरोध गरिएको संयोजक जोशीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस