सुदूर नेपाललाई विश्वसँग जोड्दै

१२ सय करोड बराबरको लागुऔषधसहित दुई जना अफगान नागरिक पक्राउ

२०७९ भदौ २२, ०९:२९

एजेन्सी: भारतको दिल्ली प्रहरीले इतिहासमै सबैभन्दा ठूलो परिमाणको लागुऔषध बरामद गरेको जनाएको छ। झण्डै १२ सय करोड भारतीय रुपैयाँ बराबरको ३ सय १२ किलो मेथाम्फेटामाइन लागुऔषधसहित दुई अफगान नागरिकलाई पक्राउ गरिएको दिल्ली विशेष प्रहरी सेलले जनाएको समाचार संस्था एएनआईले जनाएको छ।

त्यसैगरी उनीहरूबाट १० किलो हेरोइन समेत बरामद भएको छ। आरोपीहरू नयाँ दिल्लीको कालिन्दी कुञ्ज मेट्रो स्टेशन नजिकैको मेथापुर रोडबाट पक्राउ परेका हुन्। सन् २०१६ देखि भारतमा बस्दै आएका २३ वर्षीय मुस्तफा स्टानिकजा र ४४ वर्षीय रहिमुल्लाह रहिमलाई विदेशबाट सञ्चालित लागुऔषध तस्करको ठूलो मात्रा दिल्लीमा ल्याइने गरेको सूचनापछि पक्राउ गरेको दिल्ली प्रहरीले जानकारी दिएको छ।

दुई अफगानी नागरिकलाई पक्राउ गरेपछि लागूऔषधको अन्तर्राष्ट्रिय कारोबारबारे थप खुल्ने र यसबारेमा अनुसन्धान भैरहेको खबरमा उल्लेख छ। दिल्ली प्रहरीको स्पेशल सेलले अहिले बरामद गरिएको मेथाम्फेटामाइन इतिहासमै सबैभन्दा धेरै रहेको जनाएको छ।

 

 

कमेन्ट लोड गर्नुस