सुदूर नेपाललाई विश्वसँग जोड्दै

होला त माओवादी र समाजवादीबीच पार्टी एकता ? धनगढी पुगेर प्रचण्डले यस्तो भने

२०७९ भदौ २१, ०५:४२ रोशन भट्ट

धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढीमा छन्। मंगलबार पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न उनी धनगढी पुगेका हुन्। 

यसैबीच धनगढीमा आयोजित प्रशिक्षणका क्रममा प्रचण्डले भनेका छन्, ‘केही दिनमा अनौठो हुनेवाला छ। अचम्म नमान्नुहोला कमरेड।’ उनको यो भनाइपछि धेरैले समाजवादीसँग पार्टी एकता हुने अडकल गर्न थालेका छन्। सत्ता गठबन्धनका शीर्ष नेतासमेत रहेका प्रचण्डको यो भनाइले एकीकृत समाजवादीसँग पार्टी एकता हुने संकेत देखाएको छ।

तर प्रचण्ड निकटका नेताहरुले भने आधिकारिक रुपमा यो कुरालाई स्वीकार गरेका छैनन्। माओवादीका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले पनि प्रचण्डले बोलेको त्यो भनाइको खास अर्थ थाहा नपाएको बताए। ‘अध्यक्ष कमरेडले समाजवादीसँग पार्टी एकताको विषयलाई पनि संकेत गरेका हुनसक्छन्,’ उनले भने, ‘गठबन्धनको सिट बाँडफाँडलाई भनेका हुनसक्छन्। मेरो यस विषयमा धेरै कुरा भएको छैन।’ 

प्रचण्डसँगको आन्तरिक छलफलमा यो कुरा उठेन ? भन्ने दिनेशखबरको प्रश्नमा इन्चार्ज भट्टले भने, ‘पार्टी एकताको विषयमा छलफल त भइरहेको छ। चुनाव अगाडि गर्ने कि पछाडी गर्ने भन्ने विषयमा। तर, आजको छलफलमा त्यो उठेको जस्तो लाग्दैन।’ 

पछिल्लो समय माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीबीच एकता हुने चर्चा बढेको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस