‘सुदूरपश्चिममा काँग्रेसले गठबन्धन नगर्ने भनेर शीर्ष नेतृत्वसँग बार्गेनिङ गर्न खोज्यो’
धनगढीः नेपाली काँग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले केही दिन अगाडि डोटीमा गठबन्धन नहुने घोषणा गरे। बलायरले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सत्ताधारी दलसँग गठबन्धन नगर्ने घोषणा गरेका हुन्।
काँग्रेसका पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पनि गठबन्धन नगर्ने निर्णय भएको छ। यता माओवादी नेतृ विना मगरको क्षेत्रसमेत रहेको कञ्चनपुर–१ मा चुनावी तालमेल नहुने बताइएको छ।
यसरी सुदूरपश्चिम केही स्थानमा गठबन्धन नमान्ने भन्दै काँग्रेसले निर्णय नै गरेपछि माओवादी र समाजवादीका केही नेता कार्याकर्ता अत्तिएका छन्। तर, माओवादीका केन्द्र सुदूरपश्चिम इन्चार्जसमेत रहेका खगराज भट्टले भने काँग्रेसले गठबन्धन नगर्ने भनेर शीर्ष नेतृत्वसँग बार्गेनिङ गर्न खोजेको आरोप लगाएका छन्। ‘यो निर्णय आधिकारिक होइन। पार्टी केन्द्रले गरेको निर्णय आधिकारिक हुन्छ। काँग्रेसको पार्टी केन्द्र गठबन्धनको पक्षमा छ। यस्ता निर्णयहरु विभिन्न कारण हुन्छन्। सायद यस्तो निर्णय गरेर शीर्ष नेतृत्वसँग बार्गेनिङ पावर बढाउन खोजेको हुनुपर्छ,’ उनले भने।
सत्तासाझेदार दलहरु गएको स्थानीय तह निर्वाचनमा पनि तालमेल गरेर चुनावी मैदानमा उत्रिएका थिए। तर, उक्त समयमा पनि सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा गठबन्धन कायम हुन सकेको थिएन। अब हुने निर्वाचनमा पनि सोही अवस्था आउँछ कि भन्ने डर कतिपयमा छ।
माओवादी सुदूरपश्चिम इन्चार्ज भट्ट भने काँग्रेसको शिर्ष नेतृत्व गठबन्धनको पक्षमा भएका कारण यहाँको निर्णयले केही फरक नपार्ने बताउँछन्। ‘काँग्रेसको आधिकारिक भ्वाइस भनेका शेरबहादुर देउवा हुन्। उहाँले केही बोल्नुभएको छैन। केही जिल्लास्तरका नेताले भनेको कुरा आधिकारिक हुँदैन। यस्तो निर्णयको विषयमा जिल्लाबाट आउने भ्वाइस आधिकारिक हुन्न। पार्टी केन्द्रको भ्वाइस प्रभावकारी हुन्छ। त्यो सुनिएको छैन। सबै गठबन्धनका शिर्ष नेताहरु गठबन्धनकै पक्षमा छन्,’ उनले भने।
काँग्रेस, माओवादी, समाजवादी दलले चुनावी तालमेल सबै जिल्लामा कायम रहने बताएपनि सिट व्यवस्थापनमा भने समस्या हुने देखिएको छ। विशेषगरी तीनै दलका शिर्ष नेता नजिक मानिएका व्यक्ति चुनावी तालमेलमा सहभागी गराउन चुनौती रहेको छ।