सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामी जनताले मलाई विश्वास गर्नेमा ढुक्क छुः भीम रावल [अन्तर्वार्ता]

'काँग्रेसभित्र पनि विद्रोह हुन्छ'

२०७९ भदौ १९, ०६:२४ रोशन भट्ट

आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि राजनीतिक दलहरु उम्मेदवार छनोटको दौडमा छन्। अहिले पार्टीको जिल्ला स्तरबाट उम्मेदवार सिफारिस गर्ने क्रम चलिरहेको छ।

सोही क्रममा अछामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट एमालेका नेता डा भीम रावलको नाम पनि सिफारिस भएको छ। नेकपा एमालेका प्रभावशाली नेता रावलको नाम अछाम–१ बाट एकल सिफारिसमा परेको हो। प्रस्तुत छ, त्यसै सन्दर्भमा रहेर दिनेशखबरकर्मी रोशन भट्टले रावलसँग गरेको संक्षिप्त कुराकानी। 

तपाईंलाई अछाम–१ बाट एकल सिफारिसमा पर्छु भन्ने लागेको थियो ?
यो भिन्न अवस्थामा पनि उहाँँहरुले मेरो नाम सिफरिस गर्नु भएको छ। त्यसका लागि धन्यवाद दिन्छु। तर, यो अन्तिम कुरा होइन। पार्टी केन्द्रले के गर्छ त्यो हेर्न बाँकी छ। हाम्रो राष्ट्रियता स्वाधिनता, स्वाभिमान खतरामा परेको छ। यो राष्ट्रलाई कसरी बचाउने भन्ने मेरो लक्ष्य र ध्यय रहेको छ। 

पार्टी केन्द्रले पनि टिकट दियो भने चुनावी मैदानमा उत्रिनु हुन्छ होला, त्यसपछिको नतिजा के होला ? सत्ताधारी गठबन्धन छ ।
मैले अहिलेसम्म चुनावको तयारी गरेको छैन। चुनाव हार्ने जित्ने भन्ने त स्वभाविक कुरा हो। नेकपा एमाले संगठानात्मक चुनौती र समस्याको बीचबाट गुज्रिरहेको छ। त्यसकारण पछिल्लो चरणमा के हुन्छ। त्यो हेरेपछि मात्रै भन्न सक्छु। तर, एक कुरा चाहीँ अहिले पनि भन्छु, अछामी जनताले मलाई विश्वास गर्नेमा ढुक्क छु। 

अहिलेको गठबन्धन एमालेको विरुद्धमा हो भन्छन् नि ?
नेपालको संविधानको धारा २६९ बमोजिम समान विचार सिद्धानत भएका दलहरु गठबन्धन गर्न सक्छन्। तर फरक विचार भएका दलले गरेको गठबन्धन होइन की यो संविधानविपरीतको काम हो। यो गठबन्धन होइन की सिद्धान्तहिन, आदर्शहिन, गन्तव्यहिन, लक्षहिन यात्रा हो। 

आगामी निर्वाचनमा एमालेसँग प्रतिस्पर्धा गर्नका लागि काँग्रेस, माओवादी, समाजवादी लगायतका दलले एक्लै चुनावी मैदानमा उत्रिनुपर्छ भन्न खोज्नु भएको हो ?
एक्लै उत्रिनुहोस् पनि भनेको छैन। जस्तो मान्नुहोस् की जसलाई हामी उदारवादी प्रजातन्त्र भन्छौ, वा लोकतान्त्रिक समाजवाद भन्छौ। जे भने पनि त्यस्तो मान्यता भएका दलहरु एक ठाउँमा हुन सक्छन्। नेपालको संविधानले अनुमति दिन्छ। तर विपरीत सिद्धान्त भएका दलले हामी गठबन्धन गर्छौ भन्नु त्यो हास्यास्पद कुरा हो। अवसरवादी कुरा हो। 

अब हुने निर्वाचनमा एमाले ७४ कै स्थानमा पुग्नसक्छ ?
अहिले नै यसको निष्कर्ष निकाल्दा अलि हतार हुन्छ। काँग्रेसले एक सयभन्दा बढी सिट माग्दै छ गठबन्धनसँग। माधव जीको पनि अडान त्यस्तै छ। प्रचण्ड जीको माग पनि त्यस्तै छ। यसको केही ठेगान छैन। त्यसकारण हाम्रो पनि केही आकार आएको छैन। 

काँग्रेसका शेखर कोइरालाको टीम एमालेसँग मिल्ने चर्चा छ नि ?
नेपाली काँग्रेसको नेता उहाँले यो कुरा उसै त नगरेको होलान्। यदी नेपाली काँग्रेसले एक सय सिट पाएन भने, काँग्रेसभित्र पनि विद्रोह हुन्छ। यो उहाँहरुले भनिसके। यो गम्भीर विषय हो। यस्तो तरिकाको राजनीति छ हाम्रो देशमा। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस