कञ्चनपुर काँग्रेसद्वारा ३ ओटै क्षेत्रका लागि उम्मेदवार सिफारिस (नामसहित)
धनगढी: नेपाली काँग्रेस कञ्चनपुरले ३ ओटै क्षेत्रका लागि उम्मेद्वार सिफारिस गरेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरिएको हो।
काँग्रेस कञ्चनपुरका सचिव भीम भट्टका अनुसार क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ दिवानसिंह विष्ट र समानुपातिकतर्फ कृष्णदेवी गिरीको नाम सिफारिस गरिएको छ। सोही क्षेत्रको प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ८ जनाको नाम सिफारिस गरिएको उनले बताए। यस्तै प्रदेशसभा ‘ख’ का लागि प्रत्यक्षतर्फ ५ जना र समानुपातिकतर्फ ८ जनाको नाम सिफारिस गरिएको छ।
यसैगरी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि एनपी साउद, हरि बोहरा र प्रेम बलायरको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ भने ९ जनाको सिफारिस भएको छ। सोही क्षेत्रको प्रदेशसभा ‘क’ प्रत्यक्षतर्फ १० जना र समानुपातिकतर्फ १४ जनाको नाम सिफारिस भएको छ। यस्तै प्रदेशसभा ‘ख’ मा भने प्रत्यक्षतर्फ बहादुरसिंह थापाको एकल नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ २१ जनाको सिफारिस भएको सचिव भट्टले जानकारी दिए।
यस्तै जिल्लाको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि रमेश लेखक र प्रेमबहादुर विष्टको नाम सिफारिस भएको छ। समानुपातिकतर्फ भने ११ जनाको नाम सिफारिस भएको छ। सोही क्षेत्रको प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ १६ जना र समानुपातिकतर्फ २४ जना चुनिएका छन्। यसैगरी प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ ८ जना र समानुपातिकतर्फ १२ जनाको नाम सिफारिस भएको काँग्रेस कञ्चनपुरका सचिव भीम भट्टले बताए। ती सबै क्षेत्रबाट आएका नामहरु प्रदेशमा पठाउने उनले बताए।