सुदूर नेपाललाई विश्वसँग जोड्दै

म्यानमारकी नेतृ सुकीलाई थप तीन वर्ष जेल

२०७९ भदौ १८, ०६:०२

एजेन्सी: म्यानमारको सैन्य अदालतले आङ सान सुकीलाई निर्वाचनमा धाँधली गरेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ। सुकीका वकिलले बीबीसीलाई यसबारे जानकारी दिएका छन्। सुकीलाई हालसम्म ११ वटा मुद्दामा २० वर्षको जेल सजाय भइसकेको छ भने उनीविरुद्ध धेरै मुद्दा विचाराधीन छन्।

तर, सुकीले सबै आरोप अस्वीकार गर्दै आएकी छन्। मानवअधिकारकर्मीहरूले पनि उनीविरुद्ध चलिरहेको मुद्दाको आलोचना गरेका छन्। यदि सुकी सबै मुद्दामा दोषी ठहरिएमा उनको कुल सजाय २०० वर्षसम्म हुनसक्छ। नोबेल पुरस्कार विजेता ७६ वर्षीया सुकीले आफ्नो जीवनको अधिकांश समय हिरासतमा बिताएकी छिन् र उनी घरमै नजरबन्दमा छिन्।

सञ्चारमाध्यम र आम जनतालाई सुनुवाइबारे कुनै जानकारी छैन। यसैबीच सेनाले उनका वकिललाई पत्रकारसँग कुरा गर्न प्रतिबन्ध लगाएको छ। एक सैन्य अदालतले नोभेम्बर २०२० को आम चुनावमा सुकीलाई ठगी गरेको आरोपमा दोषी ठहर गरेको छ।

उक्त निर्वाचनमा सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसी ९एनएलडी० ले ठूलो जित हासिल गरेको थियो। सुकीबाहेक उनको पार्टीका धेरै सदस्य पनि जेलमा छन्।

कमेन्ट लोड गर्नुस