देउवाकै गृहजिल्लामा गठबन्धनविरुद्ध काँग्रेसको निर्णय, मित्रवत् प्रतिस्पर्धा हुने
देउवा सर्वसम्मत सिफारिस
धनगढीः हिजो (बिहीबार) नेपाली काँग्रेसले डडेल्धुराले केन्द्रीय सभापति शेरबहादुर देउवालाई उम्मेदवार बनाउने निर्णय ग¥यो। जिल्ला कार्य समितिले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि प्रधानमन्त्रीसमेत रहेका देउवालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो।
डडेल्धुरामा एकमात्र निर्वाचन क्षेत्र छ। सोही क्षेत्रमा प्रतिनिधि सभा निर्वाचनका लागि काँग्रेसले प्रत्यक्षतर्फ देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। डडेल्धुरामा देउवाले २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन्।
काँग्रेस सत्ता गठबन्धनको प्रमुख घटक हो। साउन १० मा काँग्रेससहित सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेरै अघि बढ्ने निर्णय गरेको थियो। बालुवाटारस्थित प्रधानमन्त्री देउवाको सरकारी निवासमै बसेको पाँच दलीय गठबन्धन बैठकले चुनावी तालमेलको निर्णय गरेको थियो। सत्तारुढ पाँच दलीय गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन्।
तर, प्रधानमन्त्री देउवाकै गृहजिल्ला डडेल्धुरामा भने गठबन्धनविरुद्ध निर्णय गरिएको छ। शुक्रबार डडेल्धुराको जिल्ला कार्यसमितिले गठबन्धनको सहमतिविरुद्ध निर्णय गरेको हो। यहाँ केन्द्रीय गठबन्धनको तालमेल गरेर चुनाव लड्ने रणनीतिलाई लत्याउँदै काँग्रेसले पाँच दलीय गठबन्धनका अन्य दलहरुलाई किनारा लगाएको छ। काँग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार कार्यसमितिको बैठकले डडेल्धुरामा गठबन्धन नगर्ने निर्णय गरेको हो। काँग्रेसको यस्तो निर्णयले गठबन्धनका अन्य दल माओवादी केन्द्र र एकीकृत समाजवादीलाई भने किनारा लगाएको देखिएको छ।
‘हामीले स्थानीय तहको चुनावमा पनि गठबन्धन गरेनौँ,’ सचिव चटौतले दिनेशखबरसँग भने, ‘स्थानीय चुनावमा गठबन्धनका दलहरुसँग हामीले मित्रवत् प्रतिस्पर्धा गरेका थियौं। अहिले पनि जिल्लामा गठबन्धन नगर्ने निर्णयका साथ माथिल्लो समितिमा प्रस्ताव राखेका छौं। डडेल्धुरामा गठबन्धन हुँदैन, मित्रवत् प्रतिस्पर्धा नै हुन्छ।’ तर, उनले अन्तिम निर्णयको अधिकार भने केन्द्रीय समितिलाई नै भएको बताए। उनले भने, ‘हामीले प्रस्ताव गरेका हौं। अब प्रदेश समिति र केन्द्रीय समितिले जे निर्णय गर्छ त्यो नै बाध्यकारी हुनेछ।’
माओवादी के गर्छ ?
काँग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको भएपनि गठबन्धनका अन्य दलहरुका बीचमा छलफल नभएको बताइएको छ। गठबन्धन नगर्ने निर्णयपछि अन्य दलहरुले काँग्रेसलाई सहयोग गर्छन् कि उम्मेदवारी दिन्छन् ? भन्ने प्रश्नमा सचिव चटौतले यसबारे जिल्लास्तरमा कुनै छलफल नभएको जिकिर गरे। डडेल्धुरामा दलहरुबीच मित्रवत् प्रतिस्पर्धा नै हुने उनको दाबी छ।
यता, माओवादी केन्द्रका डडेल्धुरा संयोजक उमेश भट्ट (विकाश) ले भने पार्टी केन्द्रको निर्णय र अनुशासनविपरीतका काम गर्न नहुने बताए। उनले भने, ‘हामी गठबन्धन र पार्टीका इमानदार कार्यकर्ता हो। कुन पार्टीले के निर्णय गर्छ भन्दा पनि पार्टी केन्द्रको निर्णय अन्तिम हुन्छ।’
एक्लै लड्ने मुडमा समाजवादी
यस्तै नेकपा एकीकृत समाजवादीले पनि गठबन्धनको सहमति अनुरुप अगाडि बढ्नुपर्नेमा जोड दिएको छ। समाजवादी डडेल्धुराका सचिव भुवन पाठकले काँगे्रसले छलफल नै नगरि गठबन्धन नगर्ने निर्णय गरेको बताए। ‘केन्द्रीय गठबन्धनको भागवण्डा केही दिनेमै टुंगोमा पुग्ला,’ उनले भने, ‘डडेल्धुरा हाम्रो भागमा परेन भने हामी ब्याक हुन्छौं। तर, भागवण्डामा परेर पनि काँग्रेसले गठबन्धन नमाने एक्लै पनि चुनावमा जान्छौ।’
समाजवादीले डडेल्धुराबाट प्रतिनिधि सभामा तीन जना प्रत्यक्ष र तीन जना समानुपातिकतर्फ सिफारिस गरेको छ। प्रत्यक्षतर्फ समानुपातिक संघीय सांसद नीरा जैरु, नेता नरबहादुर विष्ट र कविन्द्र विष्ट परेका छन्। समानुपातिकका उम्मेदवारहरु भने खुलाइएको छैन।