सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक सुत्केरीको ज्यान गएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीले दिइन् राजीनामा

२०७९ भदौ १७, ०६:००

एजेन्सी: प्रसूति वार्डमा ठाउँ अभावका कारण एक जना सुत्केरीको ज्यान गएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री डाक्टर मार्टा टेमिडोले पदबाट राजीनामा दिएकी छिन्। व्यथाले च्यापेकी एक भारतीय पर्यटकको प्रसूति वार्डमा ठाउँ नपाउँदा अस्ति मङ्गलवार ज्यान गएको थियो। ज्यान गएको खबर आउनेबित्तिकै स्वास्थ्यमन्त्री टेमिडोले राजीनामा दिएको बीबीसी हिन्दीले जनाएको छ। 

पोर्चुगलको सबैभन्दा ठूलो सान्ता मारिया अस्पतालको नियोनाटोलोजी इकाइमा ठाउँ नभएपछि महिलालाई लिस्बनको अर्को अस्पतालमा लगिएको र यसै क्रममा उनको ज्यान गएको हो। गर्भवती महिलाको आकस्मिक शल्यक्रिया गरिएको थियो त्यसपछि नवजात शिशुलाई आईसीयूमा भर्ना गरिएको थियो। बच्चा भने जीवितै रहेको र महिलाको ज्यान गएको विषयमा अनुसन्धान थालिएको खबरमा उल्लेख छ।

तर स्वास्थ्यमन्त्रीको राजीनामाको कारण यो मात्रै होइन। विगत केही महिनादेखि आलोचकहरूले पोर्चुगलमा प्रसूति अस्पतालहरूमा कामदारको अभाव भएको आरोप लगाउँदै आएका छन्। डाक्टर मार्टा टेमिडो सन् २०१८ देखि स्वास्थ्यमन्त्री थिइन् र पोर्चुगललाई कोरोना महामारीको ठूलो क्षति कम गर्ने श्रेय पनि उनलाई दिइन्छ। तर उनले एक विज्ञप्ति निकालेर आफूले पदमा रहिरहने कुनै कारण नभएको उल्लेख गरेकी छिन्।

पोर्चुगलको समाचार एजेन्सी लुसाका अनुसार प्रधानमन्त्री एन्टोनियो कोस्टाले गर्भवती महिलाको मृत्यु नै डाक्टर टेमिडोको राजीनामाको अन्तिम कारण साबित भएको बताउँदै अहिलेसम्मका उत्कृष्ट कामका लागि धन्यवाद दिएका छन्। 

कमेन्ट लोड गर्नुस