सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुर्नवासमा ५० दिने महाअनुष्ठान सुरु, मुख्यमन्त्रीद्धारा उद्घाटन

२०७५ फाल्गुन २०, ०७:१५ खबर संवाददाता

महाशिवरात्री पर्वको अवसर पार्दै कञ्चनपुरको पुर्नवासमा रहेको श्रीनिवास दिव्यधाममा आजदेखी ५० दिने महाअनुष्ठान सुरु भएको छ। पुर्नवास नगरपालिका वडा नम्बर ८ को पृथ्वीबस्थीको क गाउँ स्थित श्रीनिवास दिव्यधाममा तीर्थस्थल निर्माणार्थ ५० दिने विराट देशव्यापी राष्ट्रशान्ति श्री भगवद्नाम सेवा भक्ति महाअनुष्ठान सुरु भएको हो।

महाअनुष्ठानको एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे। आउँदो बैशाख ७ गते सम्म चल्ने महाअनुष्ठानमा ८ करोड १२ लाख मन्त्रको आराधना, ८ करोड १२ लाख मन्त्र जप, हवन र अर्चना हुने श्रीनिवास दिव्यधामका संकल्पकर्ता एवम संस्थापक स्वामी गोविन्दाचार्य दाहालले जानकारी दिए।

त्यस्तै एक सय ८ आर्चायद्धारा एक सय ८ श्रीमद् भागवतको महापुराण, बैशाख ४ गतेदेखी ७ गते सम्म अन्तराष्ट्रिय सन्त सम्मेलन हुने स्वामी गोविन्दाचार्यले बताए। उद्घाटन समारोहमा बोल्दै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पहिलो पटक हुन लागेको महाअनुष्ठानले प्रदेशको धार्मिक पर्यटन विकासमा टेवा पुगाउने बताए।

श्रीनिवास दिव्यधामका संकल्पकर्ता एव्म संस्थापक स्वामी गोविन्दाचार्य दाहालको परिकल्पनामा दिव्यधामलाई तीर्थस्थलका रुपमा विकास गर्ने उद्देश्यले ५० दिने विराट देशव्यापी राष्ट्रशान्ति श्री भगवद्नाम सेवा भक्ति महाअनुष्ठान सञ्चालन भएको हो। यो महाअनुष्ठानले धर्म संस्कृति संरक्षण, सम्बद्र्धन, राष्ट्रशान्ति, पावन दिव्यधाम विकास, पुण्यलाभ एवम पितृमोक्ष प्राप्त हुने विश्वास गरिएको छ।

यस्तै सामाजिक एकता, धार्मिक पर्यटन प्रवद्र्धन तथा व्यापार व्यवसाय प्रवद्र्धनमा समेत भुमिका खेल्ने अपेक्षा आयोजकले लिएको छ।एक बिघा २ कठ्ठा क्षेत्रफलमा रहेको दिव्यधाम भविष्यमा ४४ दशमलव ४ फिट अग्लो मणिमय मण्डप, ५० फिट अग्लो दिव्य श्री राजगोपुरम विमान, ५० फिट अग्लो श्री भगवद्रथ, १ हजार ८ सहस्रधारा, तीर्थकुण्ड, पुष्पवाटिका, धर्मशाला, पुस्तकालय, योगशाला गौशाला लगायतका संरचना निर्माण गर्ने योजना रहेको छ भने पहिलो पटक सञ्चालन भएको महाअनुष्ठानले सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।    
 

कमेन्ट लोड गर्नुस