सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानमा बाढीले १० अर्ब डलरको क्षति

२०७९ भदौ १५, ०५:४१

एजेन्सी: पाकिस्तानमा वितण्डा मच्चाइरहेको बाढीले अहिले देशको एक तिहाई भाग प्रभावित बनाएको छ। बाढीबाट हालसम्म १० अर्ब डलरको क्षति भएको अधिकारीले बताएका छन्।

देशका संघीय योजना मन्त्री एहसान इक्बालले सोमबार बाढीको क्षतिको यो तथ्यांक सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय समुदायको सहयोगको लागि अपिल गरे। मंगलबार एक विज्ञप्ति जारी गर्दै पाकिस्तानको सेनाले राहत अभियान चलिरहेको र विभिन्न देशले राहत सहयोग पठाउन सुरु गरेको जानकारी दिएको छ। 

सेनाका अनुसार राहतको लागि भने टर्कीले सात सैन्य वायुयान र संयुक्त अरब एमिरेटले तीन वायुयान पठाएको छ। सेनाको विज्ञप्ति अनुसार हेलिकप्टरले बाढीमा फसेका ३०० मानिसको उद्दार गर्यो भने २३ मेट्रिक टन राहत सामग्री वितरण गरिसकेका छ। त्यस्तै देशभर ५० चिकित्सकीय क्याम्प बनाइएको र त्यसबाट झण्डै ३३ हजारभन्दा बढी विरामीको उपचार गरिएको पनि सेनाले बताएको छ। 

मंगलबार नै चीनले दुई वायुयानमा ३००० टेन्ट पठाएको छ भने जापानले पालहरु पठाएको छ। त्यसबाहेक बेलायत, क्यानडा, अष्ट्रेलिया र अजरबैजानले पनि वित्तिय सहयोगको घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले सोमबार पाकिस्तानलाई १.१७ अर्ब डलरको राहत कोष जारी गर्यो। यो सहयोग पाकिस्तान र आईएमएफबीच लामो समयदेखि चलिरहेको वार्ताको परिणाम हो। 

इन्टरनेसनल फेडरेसन अफ रेड क्रस एण्ड रेड क्रिसेन्ट सोसाईटीका पाकिस्तान प्रमुख पिटर ओफोफले आफूले पाकिस्तानमा अहिले भएजस्तो विध्वंश सहायता एजेन्सीमा काम गर्न थालेपछिका तीस वर्षमा कहिल्यै नदेखेको बताए। देशको झण्डै १५ प्रतिशत जनसंख्या अर्थात करिब ३.३ करोड जनता बाढीबाट प्रभावित छन्। त्यस्तै जुनको बीच यता परेको मनसुनमा परेर कम्तिमा ११३६ व्यक्तिहरु मारिएको देशको विपद व्यवस्थापन एजेन्सीले बताएको छ। 

कमेन्ट लोड गर्नुस