सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले ल्याएको निजामती सेवाको गठन सञ्चालन सम्बन्धी विधेयक फिर्ता गर्न माग 

२०७९ भदौ १४, ०५:१५ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले हाल कायम रहेको निजामति सेवा ऐन २०४९ को प्रावधानविपरीत अस्थायी र करार सेवाका कर्मचारीलाई सोझै स्थायी गर्न ल्याएको विधेयक विधेयक फिर्ता हुनुपर्ने माग गरिएको छ। 

मंगलबार कैलालीका नागरिक समाजले प्रदेश प्रमुख देवराज जोशीलाई ज्ञापनपत्र बुझाउँदै सोमबार प्रदेश सभाबाट पारित भएको विधेयक फिर्ता हुनुपर्ने माग गरेका हुन्।  ‘संविधानले प्रदान गरेको नागरिकको समानताको हक, रोजगारीको हक लगायतका मौलिक हकको उपभोग गर्नबाट वञ्चित गराउने र प्रदेश सरकारले संविधानको धारा २४४ बमोजिम प्रदेश लोक सेवा आयोग गठन गरिसकेको अवस्था रहेको र पारित विधेयकले आयोगको क्षेत्राधिकार पनि उल्लंघन भएको हाम्रो ठहर छ’ सो ज्ञापनपत्रमा भनिएको छ।

कैलाली जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष सिद्धराज ओझा, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खडकराज जोशी, उपभोक्ता हित संरक्षण मञ्च नेपाल उपाध्यक्ष धनपति ढुंगेल, फाया नेपालका कार्यक्रम निर्देशक शेरबहादुर बस्नेत, महिला पैरवी मञ्च नेपालकी गोमा आचार्य र फियान नेपाल प्रदेश संयोजक मुकुन्द रानाको सहभागिता रहेको थियो।

ज्ञापनपत्र बुझ्दै प्रदेश प्रमुख जोशीले विधेयकमाथि आफनो ध्यानाकर्षण भएको बताएका छन्।
 

कमेन्ट लोड गर्नुस