सुदूर नेपाललाई विश्वसँग जोड्दै

हुलाकी सडकमा २ अर्ब सकियो, सडक र पुल निर्माणको काम अधुरै

२०७९ भदौ १०, ११:५१ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक आयोजनाको निर्माणमा २ अर्ब खर्च भइसक्दा पनि निर्माणले पूर्णता पाउन सकेको छैन। कूल ४ अर्ब लगानी अनुमान गरिएको उक्त सडक योजना निर्माणमा अहिलेसम्म २ अर्ब खर्च भइसकेको छ। तर सडक र पुल निर्माणको काम भने अधुरै छ।

२०७८ भित्रै निर्माण सम्पन्न गर्नेगरी सडक निर्माणको काम सुरु गरिएपनि निर्माण सुरु भएको १२ वर्ष वितिसक्दा पनि काम अधुरै छ। ठेकेदार र आयोजना कार्यालयको लापरवाहीका कारण समयमा सडक र पुल निर्माणले पूर्णता पाउन नसकेको बताइएको छ। भारत सरकारको सहयोगमा सुरु गरिएको कैलाली कञ्चनपुरको हुलाकी सडक निर्माण २०७३ देखि नेपाल सरकार एक्लैले निर्माण गर्दै आएको छ। भारतले सडक र नेपालले पुल मात्र निर्माण गर्नेगरी सम्झौता गरिएको भएपनि हाल नेपाल सरकार एक्लैले सडक र पुल निर्माणको काम गर्दै आएको हो।

कञ्चनपुरमा कूल ६२ किलोमिटरमध्ये २८ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ। कञ्चनपुरमा पुल निर्माणको कामबाहेक सडकको काम चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने हुलाकी सडक आयोजना कार्यालय धनगढीका इन्जिनियर एवं सूचना अधिकारी पदम मडैले बताए। ‘कञ्चनपुरमा २८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बाँकी ३४ किलोमिटर सडक कालोपत्रेका लागि योग्य भइसकेकाले चालु आर्थिक वर्षभित्रै सम्पन्न भइसक्छ’ उनले भने, ‘दोधा नदीमा डबल लेनको पुल निर्माणका लागि बोलपत्र आह्वान भइसकेकाले २/३ वर्षभित्रै पुल निर्माणले पनि पूर्णता पाइसक्नेछ।’

यता कैलालीको कटनीदेखि कान्द्रासम्मको १८ किलोमिटर सडकमध्ये १७ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने, एक किलोमिटर कटानका कारण अधुरै छ। कटनीदेखि कान्द्रासम्मको जंगलमा पर्ने बसन्ता जैविक मार्गको दुई किलोमिटर सडक पनि कालोपत्रे भइसकेको छ। बसन्ता वन क्षेत्र नेपाल र भारतका वन्यजन्तुको ओहोरदोहोर गर्ने जैविक मार्ग हो। त्यस्तै क्याम्पसचोकदेखि मोहनापुल वाइपास रोड ७ किलोमिटरको काम पनि सम्पन्न भएको छ। पुरानो ठेक्का अन्तर्गतका सबै सडकको काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ।

क्याम्पसचोक–सत्ती ४४ किलोमिटर मुख्य हुलाकी सडकमा कालोपत्रेको काम बाँकी छ। यस्तै निर्माण सुरु भएको ११ वर्ष वितिसक्दा पनि कान्द्रा नदीमा पुल निर्माणको काम अधुरै छ। मोहना नदीमा २ वटा पुल र दोदा नदीमा डबल लेनको पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ। ठेकेदारको लापरवाहीका कारण सडक निर्माणको काम प्रभावकारी रुपमा अघि बढ्न नसकेको आयोजना कार्यालयले बताएको छ।

कैलाली र कञ्चनपुरमा हुलाकी सडकको सम्पूर्ण काम अबको २ वर्षभित्रै सम्पन्न हुने आयोजना कार्यालयको दाबी छ। ‘हुलाकी सडक निर्माणका लागि अब कुनै बाधा अवरोध छैन’ आयोजना कार्यालयका इन्जिनियर मडैले भने, ‘बजेटको समेत कमी नभएको अवस्थामा निर्माण कम्पनीको लापरवाहीका कारण कामको गति बढ्न सकेका थिएन।’

भारत सरकारले सन् २०१० बाट निर्माण सुरु गरेर सन् २०१४ मा धनगढीदेखि टीकापुरको सत्तिसम्म ४४ किलोमिटर सडक कालोपत्रे गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। बाँकी सडक निर्माणका लागि यस वर्ष ६० करोड बजेट विनियोजन भएको कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस