सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरीमा मन्दिरको जग्गा मिचेर बाटो माग, घेरबारमा अवरोध गर्ने ८ जनाविरुद्ध मुद्दा

२०७९ भदौ ९, ०८:५६ रक्षा भट्ट

धनगढीः कञ्चनपुरको बेलौरी नगरपालिका –९ रतनपुरस्थित सिद्धनाथ मन्दिरमा घेरबार गर्दा अवरोध सिर्जना गरिएको छ। मन्दिरको नाममा रहेको जग्गाबाट बाटो पाउनुपर्ने भन्दै ५ परिवारले अवरोध सिर्जना गरेका हुन्। 

सिद्धनाथ मन्दिर समितिले मन्दिरको संरक्षणका लागि घेरबारको काम गरिरहेको छ। समितिका अध्यक्ष दिनेश भट्टका अनुसार घेरबार गरिएका २२ पोल स्थानीय वीरेन्द्र साउदले उखेलेका छन्। ‘घेराबार गरिएका २२ पोल स्थानीय वीरेन्द्रले उखेलेर नगरपालिका पुर्‍याएछन्, नगरपालिकामा राख्न नदिइएपछि ती पोल कहाँ लगियो थाहा छैन। हामीले उखेलिएका पोल कहाँ राखिएका छन् देखेका छैनौँ,’ उनले भने।

 ८ मिटर बाटो माग गरिएकामा ४ मिटर दिनका लागि सहमति गर्न खोज्दा नमानेको बताइएको छ। ‘८ मिटर बाटो पाउनुपर्ने माग गरेका उनीहरूलाई हामीले ४ मिटर दिन सकिने भनेका थियौँ, पछि प्रहरीले पनि ८ र ४ नभनी ६ मिटर बाटोमा सहमति गर्न भनेपछि हामी तयार नै थियौँ तर उनीहरूले गालीगलौज गर्ने र पोल उखेल्ने गर्न थालेपछि ४ मिटरभन्दा बढी नदिने हामीले पनि अडान गरेका हौं,’ समितिका अध्यक्ष भट्टले भने, ‘४ मिटर बाटो उनीहरूका लागि पर्याप्त नै हुन्छ, कम होइन।’ 

मन्दिर संरक्षणका लागि घेरबारमा जुटेका स्थानीय युवा बलदेव भट्टका अनुसार वीरेन्द्र साउँदसहित ज्ञानेन्द्र भट्ट, भैरव अवस्थी, डम्मरा भट्ट लगायतले मन्दिर घेरबारमा अवरोध गरिरहेका हुन्। उनीहरूसँग बाटो हुँदाहुँदै पनि मन्दिरबाट हुलाकी सडकसँग सिधै जोडिने गरी बाटोको माग गरिरहेका छन्। मन्दिर सार्वजनिक सम्पति भएकाले निजी स्वार्थ नजोडी संरक्षणमा जोड दिनु आवश्यक रहेको उनको भनाइ छ। आफूहरुले सोही अनुरूप काम गर्न खोज्दा बाधा पुर्‍याउने काम भएको भट्टले बताए।

नगरपालिकाको न्यायिक समितिले पनि बाटो दिँदा के हुन्छ भन्दै प्रश्न गर्ने गरेको मन्दिर समितिका अध्यक्ष भट्टले बताए। ५ ओटै परिवारलाई अलग–अलग ठाउँमा बाटो दिनुपर्ने भएको हुँदा ८/८ मिटर बाटो अलग–अलग ठाउँमा दिन नसकिने उनी बताउँछन्। मन्दिर संरक्षणमा स्थानीय सरकारले रचनात्मक भूमिका निर्वाह गर्न नसकेको गुनासो गरिएको छ।

बुधबार मन्दिर समितिले ८ जनाका नाममा जाहेरी दिई मुद्दा दर्ता गराएको छ। समितिले दिएको जाहेरी अनुसार मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय बेल्डाडीका प्रहरी निरीक्षक दीपक पातलीले बताए। 

उनले सार्वजनिक जग्गा घेरबार गर्दा हानी नोक्सानी पुर्याएको भनी मुद्दा दर्ता भएको र सोही अनुसार कारबाही हुने बताए। जाहेरी परेकामध्ये ज्ञानेन्द्र भट्ट नियन्त्रणमा रहेको उनले बताए। अन्यको पनि खोजी भइरहेको र पक्राउ गरिने प्रहरी निरीक्षक पातलीले बताए। इप्रका बेल्डाँडीमा मंगलबार मन्दिर समितिका पदाधिकारीसहित स्थानीयले धर्ना समेत दिएका थिए। 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले केही दिन अगाडि आफूहरु मन्दिर भएको ठाउँ पुगेको र स्थानीय तहसँगको समन्वयमा निर्णय गरेर निकास निकाल्न सुझाएको बताए। ‘त्यहाँ सरकारले केही आरक्ष पीडितलाई बस्ने व्यवस्था गरेको रहेछ। उनीहरूले बाटोको माग गरेका रहेछन्,’ उनले भने, ‘स्थानीय तहसँगको समन्वयमा निर्णय गरेर निकास निकाल्न भनेका थियौँ।’ 

मन्दिर बस्ती बस्नुभन्दा पहिले नै निर्माण भएको हुँदा मन्दिरको जग्गामा बाटोको लागि विवाद गर्नुको कुनै औचित्य नभएको स्थानीयको भनाई छ। प्रमुख जिल्ला अधिकारी अर्यालले बस्ती मन्दिरभन्दा पहिले नै बसेको भए कानुनी रूपमा पनि उनीहरूले बाटोको माग गर्न पाउने तर मन्दिर बस्तिभन्दा पहिले निर्माण गरिएको भए व्यवहारिक रूपमा मात्रै मिलाउन सकिने बताएको समितिका अध्यक्ष भट्टले बताए। 

२०३४ सालमा मन्दिर निर्माण भएको र २०४८ पछि बस्ती बसेको हुँदा व्यवहारिक रुपमा मिलाउन खोज्दा आफ्नै अडानमा रहेका उनीहरूले कानुनी रुपमा सार्वजनिक जग्गा व्यक्तिगत उपभोगका लागि नपाउने निश्चित नै भएको समितिले जनाएको छ। कानुनतः  सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण गर्न पाइँदैन।

रक्षा भट्ट दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछिन्।

कमेन्ट लोड गर्नुस