मिटर ब्याजको जालोमा कैलालीका धनाढ्य पनि, रोडमा आउनुपर्ने अवस्था
वीरेन्द्र भट्ट, धनगढीः कैलालीमा मिटर ब्याजको जालमो पूराना धनाढ्यदेखि नव धनाढ्यसम्मै फसेको पाइएको छ। छोटो समयमै अकुत सम्पत्ति आर्जन गर्ने भन्दै मिटर ब्याजमा लागेकाहरुको एकपछि अर्काे गर्दै घरबार उजाडिन थालेको छ। धनगढीका एक पुुराना धनाढ्य मिटर ब्याजको जालोबाट उम्कन २६ करोडको जमिनसहित १९ करोडमा घर बिक्री गर्दा पनि पार पाउन सकेका छैनन्।
मिटर ब्याजमा फसेर भएको सम्पत्ति सबै गुमाएपछि धेरै महिलाहरुले आत्महत्याको बाटो समेत रोजेका छन्। रातारात धनी ब्न्ने सपनाले मध्यम वर्गीय परिवारका महिलालाई मिटर ब्याज र ढुकुटीले मृत्युको फन्दामा पार्न थालेको छ। मिटर ब्याजको चक्करमा फसेर झण्डै २ करोडको सम्पत्ति गुम्न लागेको भन्दै प्रशासनमा उजुरी दिएकी धनगढीकी एक महिलाले ३० लाख ऋण लिएर ७० लाखभन्दा बढी तिर्नुपर्ने देखिएपछि घर नै लीलामीमा गएको दुखेसो पोखिन्।
‘३० लाख ऋण लिएको थिए, नियमित ब्याज तिर्दै पनि गरेको अवस्थामा घट्नुको सट्टा बढेर ७० लाखभन्दा बढी पुगेपछि बैंक र मिटर ब्याजीका कारण झण्डै २ करोडको सम्पत्ति गुमाउनु परेको छ’ उनले भनिन्, ‘प्रशासनबाट कुनै न्याय पाइन्छ की भनेर उजुरी दिएकी छु। हिजोसम्म सम्पन्नमा गनिने आज रोडमा आउनुपर्ने अवस्था भयो।’ म मात्र होइन म जस्ता धेरै दिदीबहिनीहरुको यसरी नै उठिबास लागेको छ।’
मिटर ब्याजले डुबाएको भन्दै हाल जिल्ला प्रशासन कार्यालय कैलालीमा ४५ वटा मिटर ब्याजसँग सम्बन्धित मुद्धा दर्ता भएका छन। सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी ढुकुटी र मिटर ब्याज आतंकबाट त्रसित बनेको छ। मिटर ब्याज र ढुकुटीका कारण धनगढीमा अपराधका घटनामा पनि वृद्धि भएको छ।
मिटर ब्याज र ढुकुटीको बिषयलाई लिएर कुटपिटका घटना भइरहेका छन् भने रकम असुलीका लागि गुण्डा तैनाथ गर्ने, घरघेराउ गर्ने ज्यान मार्ने धम्की दिने घटना समेत बढीरहेका छन्। भएभरको सबै सम्पत्ति मिटर ब्याज तिर्दैमा सकेका महिलाहरु मृत्यु बाहेक अर्को विकल्प नभएको गुनासो गर्छन्। कति त मर्न नसकेर बालबच्चा छोडेरै पनि बेपत्ता भएका छन्। मिटर व्याजमा संलग्नहरुले न्यूनतम ६ लाखदेखि करोडसम्मका चेक नसाटिएको भन्दै उजुरी दिएको देखिएको छ।
जिल्ला प्रशासन कार्यालय कैलाली भने मिटर ब्याजभन्दा ठगीका उजुरी धेरै आएको बताएको छ। जग्गा ठगीका धेरै उजुरी प्रशासनमा दर्ता भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए। ‘सस्तोमा जमिन दृष्टिबन्धक राखेर अहिलेको बजार मुल्यअनुसार रकम माग गरेर जग्गा फिर्ता नगरेको लगायतका उजुरी प्रशासनमा दर्ता भएको देखिन्छ’ उनले भने। ती उजुरीमाथि कारबाही के कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको प्रशासनले जनाएको छ। यस्तो कार्यमा पुराना धनाढ्यदेखि नव धनाढ्यसम्मै रहेको पाइएको छ।
सामान्यतया मिटर ब्याजमा ३० लाख आवश्यक परेको कुनै व्यक्तिलाई सुरुमै ब्याजबापतको २० प्रतिशत रकम (६ लाख ) कटौती गरी २४ लाख दिइन्छ। ऋण लिने व्यक्तिले हरेक महिना ३० लाखको १० प्रतिशतका दरले ३ लाख रुपैयाँ ब्याज तिर्नुपर्छ। १ वर्षभित्र तिर्न नसके ब्याज दोब्बर हुन्छ। यसरी ३० लाख ऋण लिएको व्यक्तिले वर्षको ३६ लाख र सुरुमा तिरेको ६ लाख सहित ४२ लाख ब्याज मात्र तिर्नुपर्छ।
चर्को ब्याजमा ऋण लिनेले धितोबापत घरजग्गा दृष्टिवन्धक राख्छ वा ऋण दिनेलाई घितो दिनेगरी कागज बनाउने गर्छ। जस्तोसुकै व्यवसायीले पनि यति चर्को ब्याजमा रकम लिएर मुनाफाको व्यवसाय गर्न सक्दैन र विस्तारै ऋण लिनेको सम्पत्ति मिटर ब्याजमा ऋण दिनेको हुन्छ।
मिटर ब्याजको विषयमा प्रहरीसम्म अहिलेसम्म कुनै उजुरी तथा गुनासो नआएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए। ‘प्रशासनमा परेका यस्ता उजुरीको विषयमाथि कारबाहीको विषयमा लिखित रुपमा अहिलेसम्म कुनै जानकारी आएको छैन’ उनले भने, ‘पीडित आफैले पनि प्रहरीसमक्ष लिखित वा मौखिक कुनै उजुरी गरेको देखिदैन।’
वैदेशिक रोजगार, सरकारी जागिर र व्यवसायमा संलग्न पुरुषका श्रीमतीहरुले चर्को ब्याजमा पैसा लगाउने लोभमा थाहै नपाइकन यो धन्दामा लाग्ने गरेका छन्। आफूसँग भएको सम्पत्ति मात्र नभई चर्को ब्याजको लोभमा फसेर आफ्ना आफन्तसँग र वित्तिय संस्थावाट समेत ऋण निकालेर मिटर ब्याजमा लगाउनेहरु नै अहिले सर्वश्व गुमाउनेमा छन्।