बाजुरामा थप ७ बन्दकर्तालाई प्रहरीले समात्यो
धनगढीः बाजुरामा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका थप ७ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। बन्दको आह्वान गर्दे हिँडेका ७ जना कोल्टी बजारबाट पक्राउ परेका हुन्।
यसअघि मार्तडीबाट ३ जनालाई प्रहरीले समातेको थियो। सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता÷कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको हो। यस्तै अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेर अन्य ३ पार्टीले बन्दमा सर्मथन गरेका छन्।
विप्लवको पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका हुन्।