सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा सार्वजनिक सवारीको दुरुपयोग, सचिवको बाईकमा छोराको ‘मोज’(भिडिओ)

२०७९ भदौ ४, ०१:०३ खबर संवाददाता

धनगढीः सामाजिक सञ्जालमा अहिले एउटा भिडिओ भाइरल छ। भिडिओ हो, बझाङको जयपृथ्वी नगरपालिकाले जनप्रतिनिधिका लागि भनेर वितरण गरेको मोटरसाइकल दुरुपयोगको। सरकारी नम्बर (से १ ब ११७१) प्लेटको मोटरसाइकल सिकारुले कुदाइरहेको भिडिओमा देखिन्छ। सोही भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो। भिडिओमा देखिएको मोटरसाइकल भने जयपृथ्वी नगरपालिका अन्तरगत वडा नम्बर १ मा कार्यरत सचिव अजयबहादुर सिंहको रहेको खुलेको छ।  

उनलाई  सरकारी सेवा प्रवाहमा प्रयोग गर्न भन्दै नगरपालिकाले मोटरसाइकल दिएका थियो। तर, उक्त मोटरसाइकल जिल्ला सदरमुकाम चैनपुरमा उनका छोरा समन्द सिंहले अरुलाई सिक्न र सिकाउनका लागि प्रयोग भेटिएको छ। 

भिडियोमा पनि मोटरसाइकल चलाउन सिक्न, सिकाउन प्रयोग भएको देखिन्छ। बाँझो खेतमा उक्त मोटरसाइकल चलाउने दुई तीनजना मध्ये एकजना वडा सचिवका छोरा समन्द हुन्। उनैले उक्त मोटरसाइकल त्यहाँ ल्याएका थिए। सवारी चालक अनुमति पत्रसमेत नभएका उनले दैनिक बुवालाई दिइएको मोटरसाइकल प्रयोग गर्दै आएको स्थानीयले बताएका छन्। 

यता, जयपृथ्वी नगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष डम्बरबहादुर सिंहले भने आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताएका छन्। यस्तै जयपृथ्वी नगरपालिकाका सूचना अधिकारी लालबहादुर थापाले भने सरकारी सवारी साधनलाई दुरुपयोग गर्न नपाइने बताउँदै कसैले गरेको पाइएमा नगरपालिकाले कारबाही गर्ने बताए। नगरपालिकाले वडाध्यक्ष र वडाका कर्मचारीहरूले दिने सेवा प्रवाहमा सहजता होस् जनप्रतिनिधि तथा कर्मचारीलाई सवारीसाधन वितरण गरेको थियो। 

तर, नगरपालिकाले वितरण गरेका सवारीसाधनहरू वितरण गरेको समयदेखि नै दुरुपयोग हुँदै आएका छन्। वितरित सवारीसाधनहरूलाई सवारी चालक अनुमति पत्र नै नभएका व्यक्तिहरूले जथाभाबी चलाउने, व्यक्तिगत काममा प्रयोग गर्ने र आसेपासेलाई प्रयोग गर्न दिने गरेको समेत पाइएको छ।

 

कमेन्ट लोड गर्नुस