सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको सरकारी विद्यालयमा फर्निचर उद्योग !

२०७९ भदौ ४, ११:१३ रोशन भट्ट

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ मा रहेको शान्ति आधारभूत विद्यालय झण्डै ५ वर्ष अगाडि गाभियो। सोही नगरपालिकामा रहेको सीताकुण्ड माविसँग शाक्ति आधारभूत विद्यालय गाभिएको हो। 

सरकारी विद्यालय गाभिएपछि चल सम्पत्ति सीताकुण्डले आफ्नो मातहतमा लिएको थियो। अचल सम्पत्ति अर्थात भौतिक संरचनाको संरक्षण भने वडा कार्यालयले गर्नुपर्ने निर्णय नगरपालिकाले गरेको थियो। तर, अहिले सोही शान्ति आधारभूत विद्यालयको सम्पत्ति व्यक्तिलाई सुम्पिएको छ। व्यवसाय सञ्चालन गर्नेगरी सुम्पिएको उक्त संरचनामा फर्निचर उद्योग दर्ता गरी काठ मिल सञ्चालन गरेको घोडाघोडीका स्थानीय इन्द्र रिजालले बताए। ‘स्कुलको क्षेत्रमा फर्निचर उद्योग सञ्चालन गरेर गोलिया चिरान भइरहेका छन्,’ उनले भने, ‘एक व्यक्तिले दादागिरी शैलीमा सरकारी सम्पत्तिको दोहन गरिरहेको छ।’

घोडाघोडीका स्थानीय केशर बुढाले सञ्चालन गरेको फर्निचर उद्योगले विद्यालय परिसर प्रयोग गरेको छ। विद्यालय प्रशासन तथा वडा कार्यालयकोसँगै अन्य सरोकारवाला मिलेर स्कुल परिसर व्यक्तिलाई दिएको गुनासो स्थानीयको छ। स्थानीयका अनुसार निःशुल्क रुपमा दिइएको सरकारी सम्पत्तिमा काठ मिल सञ्चालन भइरहेको छ।  फर्निचर उद्योगमा १८ इन्चभन्दा मोटा काठ काट्न नपाएने प्रवधान छ। तर, सो फर्निचरमा सालका ठुला गोलिया पनि चिरान हुने गरेका छन्। 

यता फर्निचर उद्योग सञ्चालक भने विद्यालयको जग्गा वार्षिक ३० हजार तिर्नेगरी भाडामा लिएको बताएका छन्। तर सञ्चालक बुढाले नै हालसम्म भाडा नदिएको स्वीकार गरे। ‘मेरो फर्निचर हो। विद्यालयले निर्णय गरेर भाडा तिर्नेगरी दिएको छ। निर्णय नै नगरेको भए म त्यो ठाउँ प्रयोग गर्थेन,’ उनले भने। 

सरकारी सम्पत्तिको संरक्षण गर्नु स्थानीय तहको दायित्व हो। तर, कैलालीको घोडाघोडीमा सरकारी विद्यालयको अचल सम्पत्तिमा एक व्यक्तिले रजाइँ गर्दा पनि नगरपालिका मौन छ।  प्रयोगविहीन भएको सरकारी सम्पत्तिलाई समुदायमा फाइदा पुग्ने गरी पुनः प्रयोगमा ल्याउनु पर्ने हो। तर त्यसतर्फ नगरपालिकाकोे ध्यान गएको छैन। 

उक्त सम्पत्तिको संरक्षण गर्ने जिम्मा पाएको वडा कार्यालय पनि मौन छ। वडा कार्यालय र विद्यालय व्यवस्थापन समिति सरकारी सम्पत्तिको दोहनमा लागेपनि नगरपालिका भने मूकदर्शक बनेको छ। 

घोडाघोडी नगरपालिकाका सूचना अधिकारी उमेशराज रेग्मीले विद्यालयमा फर्निचर उद्योग सञ्चालन भएको जानकारी आएको बताए। ‘त्यो संरक्षण गर्ने जिम्मा वडा कार्यालयको हो। अब हामी स्थलगत अनुगमन गर्छौ। त्यो गुनासो हामीसँग पनि आएको छ,’ उनले भने। 

घोडाघोडीको यो विद्यालय एक प्रतिनिधि उदाहरण मात्रै हो। जिल्लाका अन्य निकायको सम्पत्तिमाथि व्यक्तिले यसैगरी रजाइँ गर्दै आएका छन्। संरक्षणको जिम्मा पाएकाहरु नै व्याक्तिगत लाभ लिएर यसमा सक्रिय भएका छन्।    
  
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस