सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओल्केकै दिन बुङ्गलमा रुवाबासी, काम खोज्न भारत हिँडेका पाँचैजना अब कहिल्यै फर्कदैनन्

२०७९ भदौ २, ०७:२८ आशिष मल्ल

धनगढी: बुधबार बझाङको बुङ्गल गाउँपालिका–८ का ६ जना कामको खोजीमा भारततर्फ हिँडेका थिए।  सम्पूर्ण सुदूरपश्चिमवासी ‘ओल्ने त्यार’ मनाइरहेका बेला उनीहरु भने दार्चुलाको बाटो भएर धार्चुला पुग्ने योजनामा थिए। सोही अनुसार से१ज नम्बरको जीप चढेर उनीहरु दार्चुला सदरमुकाम खंलगातर्फ गइरहेका थिए। 

तर, उनीहरुको भारतका रोजगारी गर्ने सपना अधुरै रह्यो। खंलगा नपुग्दै उनीहरुको सपना चुँडिएको छ। जीप शैल्यशिखर नगरपालिका–६ उल्लानीमा पल्टियो। ६ जनामध्ये ५ जनाको घटनास्थलमै ज्यान गयो। 

सो दुर्घटनामा हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहराको मृत्यु भएको थियो। रैभान र चम्फा श्रीमान–श्रीमती रहेको उनीहरुसँगै गएका छैठौं व्यक्ति धनबहादुर जागरीले बताए। उनी भाग्यवस् बाच्न सफल भएका छन्। घाइते अवस्थामा रहेका उनको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ। ‘गाउँबाट हामी ६ जना कामको खोजीमा हिँडेका थियौँ’ घाइते जागरीले भने, ‘जीप दुर्घटनामा सँगैका पाँच जनाको मृत्यु भएपछि दुखी भएको छु। एकै गाउँका पाँच जनाको ज्यान गएपछि बुङगलमा ओल्केकै दिन बज्रपात परेको छ।’

बुधबार शैल्यशिखर नगरपालिका–६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगाका लागि छुटेको जीप दुर्घटना भएको थियो। सो दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो भने अन्य ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

दुर्घटनामा परेर दाुर्चुलाको मालिकार्जुन गाउँपालिका–३ की ५० वर्षीया गोमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन गाउँपालिका–६ की ४० वर्षीया रेवती धामी, महाकाली नगरपालिका–७ का ३५ वर्षीय रमेश लुहार, बझाङको बुङगल नगरपालिका–८ का धनबहादुर जागरी र बैतडीको डिलाशैनी गाउँपालिका–३ का प्रदिप राना घाइते भएको दार्चुलाका डीएसपी प्रतीक विष्टले जानकारी दिए। 

जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो। ५ जनाको सिट पास रहेको जीपमा १४ जना सवार रहेको पाइएको छ। जीप अनियन्त्रित भएपछि दुर्घटना भएको एक यात्रुले बताएका छन्। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस