सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको जाखोर तालमा अनैतिक गतिविधि बढ्दै, स्थानीयले मागे सुरक्षा

फोटो: रवि बम
फोटो: रवि बम
२०७९ भदौ १, ०६:४५ नारायण अवस्थी

धनगढी: कैलालीस्थित धनगढी उपमहनगरपालिका वडा नम्बर ७ मा रहेको जाखोर ताल क्षेत्रमा सोलार बत्ती जडान भएसँगै रातिको समयमा मानिसहरूको चहलपहल बढ्न थालेको छ। धनगढी उपमहानगरपालिकाले ताल क्षेत्रमा सोलार बत्ती जडान गरेसँगै रात्रिकालिन समयमा अनैतिक गतिबिधि बढेको स्थानीयले बताएका छन्।  

अध्यारो पर्न थालेपछि बत्तीको उज्यालोमा बसेर ताल क्षेत्रको अवलोकन गर्दै आनन्द लिन सकिने भए पनि रातिको समयमा युवायुवतीको समूहले गर्ने कोलाहलका कारण स्थानीयले असुरक्षा महसुस गरेका छन्। युवायुवतीका कारण रातिको समयमा समुदायमा शान्ती भङ्ग भएको स्थानीय तिलक मौनीले बताए। ‘सोलार बत्ती जडान भएसँगै राति अबेरसम्म मान्छे ताल क्षेत्रमा बस्ने गरेका छन्,’ उनले भने, ‘तीव्र गतिमा मोटरसाइकल हाक्ने, डिजे लगाएर सुत्न नदिने काम भइरहेको छ। ताल क्षेत्रमा बस्न पाउने समय तोक्नुपर्छ।’

अबेर रातिसम्म युवाहरु ताल क्षेत्रमा सक्रिय हुँदा असुरक्षा बढेको भन्दै ताल क्षेत्रमा बस्न पाउने समय सीमा तोक्नुपर्ने स्थानीय मनोज बोहराले बताए। ‘ताल क्षेत्रमा रातिको समयमा मान्छेहरूको गतिविधि बढेको छ, जसले गर्दा होहल्ला र असमाजिक काम ताल क्षेत्रमा हुन थालेका छन्,’ उनले भने, ‘जाखोर ताल क्षेत्रमा प्रहरी पोष्ट राखेर सुरक्षा दिनुपर्छ। नत्र जुनसुकै बेला घटना घट्न सक्ने जोखिम छ।’

धनगढी उपमहानगरपालिकाले धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा जाखोर ताल क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न ताल क्षेत्रको सौन्दर्यीकरण गर्दैछ। ताल क्षेत्रमा रहेको वनस्पति उद्दान र ताल परिसरमा दैनिक घुम्न आउनेको संख्या पछिल्ला दिनहरूमा बढेको छ। तर, ताल क्षेत्रमा रातिसम्म मदिरा सेवन गर्दै बस्ने, होहल्ला गर्दै ओहोर–दोहर गर्ने, शिशाका बोतल तालमा फ्याक्ने, अश्लील गतिविधि गर्ने काम बढेसँगै स्थानीयले सुरक्षाको माग गरेको वडा नम्बर ७ का अध्यक्ष मोती रानाले बताए।

‘स्थानीयले वडा कार्यालयमा आएर गुनासो गरेका छन्,’ उनले भने, ‘मैले मेयरसापसँग पनि कुरा गरेको छु। एसपी सापले पनि नियमित गस्ती गर्ने भन्नुभएको छ। सबै मिलेर तालमा हुने गलत गतिविधि रोक्न काम हुनुपर्छ।’

स्थानीयले ताल क्षेत्रमा अस्थायी प्रहरी पोष्ट राखेर सुरक्षा प्रदान गर्नुपर्ने माग गरेका छन्। तालमा निर्माण गरिएका संरचनाको साथसाथै त्यहाँ घुम्न जाने नागरिकको सुरक्षा गर्न जाखोर ताल क्षेत्रमा सुरक्षा निकायको उपस्थिति हुनुपर्ने माग स्थानीयको छ। 

प्रहरीले भने ताल क्षेत्रमा नियमित गस्ती भइरहेको दाबी गरेको छ। ताल क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। ‘शान्ति सुरक्षा कायम गर्न स्थानीयले पनि प्रहरीलाई सूचना दिएर सहयोग गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘हामीले जाखोर ताल क्षेत्रमा नियमित गस्ती बढाएका छौँ।’

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस