बैतडीको दशरथचन्दमा विपत् पूर्वसूचना प्रणाली गोदाममा थन्कियो
बैतडीः बैतडीको दशरथचन्द नगरपालिकाको बाढी पहिरोसम्बन्धी जानकारी दिने विपत् पूर्व सूचना प्रणाली गोदाममा थन्किएको छ। महाकाली नदीसँग सीमा जोडिएको दशरथचन्द नगरपालिकाका वडा नम्बर ६ र १० बाढीको जोखिममा भए पनि त्यहाँ कुनै पनि पूर्वसूचना प्रणाली जडान हुन सकेको छैन।
परीक्षणका लागि तीन वर्षअघि नगरपालिकाको छतमा जडान भएको पूर्वसूचना प्रणालीको उपकरण बिग्रेका कारण गोदाममा थन्किएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोद चन्दले जानकारी दिए। दशरथचन्द नगरपालिकाको वडा नम्बर ६ र १०, मेलौली नगरपालिकाको वडा नम्बर ८ र ९, विशालपुर र कोटीगाउँ क्षेत्र बाढीपहिरोका कारण उच्च जोखिममा रहेका स्थान हुन्। मेलौलीको कोटीगाउँ पहिरोका कारण त्यहाँ पाँच सयभन्दा बढी परिवार जोखिममा रहेका स्थानीय नरिराम लोहारले बताए।
बाढीपहिरोको उच्च जोखिम रहेका मेलौली नगरपालिाकसहित तल्लोस्वराड क्षेत्रमा नेपाल रेडक्रस सोसाइटी बैतडी शाखामार्फत पश्चिम विपत् पूर्वतयारी परियोजनाअन्तर्गत जोखिम नक्साङ्कन गरिए पनि स्थानीय तहले जोखिमको ख्याल नगरी जथाभावी सडक खन्दा दलित बस्ती जोखिममा परेको मेलौली नगरपालिका वडा नम्बर ८ का स्थानीय धनीराम लोहारले बताए। उनका अनुसार बस्ती तलबाट सुर्नया नदीको बाढीले बर्सेनि कटान गर्ने र माथिबाट स्थानीय तहले सडक निर्माण गर्दा बस्ती जोखिममा परेको छ। जोखिममा रहेको बस्तीमा विपत् पूर्व सूचना प्रणाली जडान हुन सकेको छैन।
बाढीपहिरोको जोखिममा परेका समुदायमा नेपाल रेडक्रसले पश्चिम विपत् पूर्वतयारी परियोजनामार्फत विगत तीन वर्षदेखि सामाजिक स्रोत तथा प्रकोप जोखिम नक्साङ्कन गर्दै गाउँगाउँमा जोखिमका होर्डिङबोर्ड गाडेर सचेत गराए पनि स्थानीय तहले विकास निर्माण गर्दा जोखिम नक्साङ्कनलाई ख्याल नगरेको पाइएको छ। सडक निर्माण र बाढीपहिरोको जोखिमका विषयमा मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले विगतका सरकारले जथाभावी सडक खने पनि अब निर्माण कार्य नियन्त्रण गरिने बताए।