सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ३ वर्षमा फेला परे ४२ बेवारिस शव, कसरी व्यवस्थापन गर्छ प्रहरी ?

२०७९ भदौ १, ११:४१ रक्षा भट्ट

धनगढीः सुदूरपश्चिम प्रदेशमा पछिल्लो तीन वर्षको अवधिमा फेला परेका ४२ शवको पहिचान नखुलेको पाइएको छ। प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ११ ओटा, ०७७/०७८ मा १९ ओटा र ०७८/०७९ मा १२ ओटा गरी ४२ शवको पहिचान नखुलेको पाइएको हो। 

सबैभन्दा बढी कञ्चनपुरमा २१ ओटा बेवारिस शव फेला परेका छन्। त्यस्तै कैलालीमा ६, डडेल्धुरामा ४, बैतडी र दार्चुलामा ३/३, डोटी र बझाङमा २/२ र अछाममा १ ओटा मात्र बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। 

कञ्चनपुरमा आर्थिक वर्ष २०७६/०७७ मा ७ ओटा, ०७७/०७८ मा ९ ओटा र ०७८/०७९ मा ५ ओटा गरी तीन वर्षको अवधिमा २१ ओटा शव बेवारिसे अवस्थामा फेला परेका हुन्। कैलालीमा पनि आर्थिक वर्ष २०७६/०७७ मा १ ओटा, ०७७/०७८ मा ३ ओटा र ०७८/०७९ मा २ ओटा गरी तीन वर्षको अवधिमा ६ ओटा शव बेवारिस अवस्थामा फेला परेका हुन्। 

त्यस्तै, डोटी र अछाममा गत आर्थिक वर्षमा मात्रै कूल ३ ओटा शव फेला परेका छन् भने डडेल्धुरामा आर्थिक वर्ष ०७७/०७८ मा ४ ओटा, बझाङमा ०७७/०७८ र ०७८/०७९ मा १/१ ओटा, बैतडीमा ०७६/०७७ मा २ र ०७८/०७९ मा १ ओटा र दार्चुलामा ०७६/०७७ मा १ र ०७७/०७८ मा २ ओटा शव बेवारिसे अवस्थामा फेला परेका हुन्। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोला रावलका अनुसार बेवारिस शवहरुलाई १०/१५ दिन जति राखेर पहिचान खुलाउने प्रयास गरिन्छ। ‘बेवारिस अवस्थामा फेला परेका शवलाई यति नै दिन पहिचानका लागि कुर्ने भन्ने निश्चित समयावधि त तोकिएको छैन, तर १०/१५ दिन जति कुर्ने गरेका छौँ’ उनले भने, ‘शव नसड्दासम्म र नगन्हाउँदासम्म कुर्छौ। फेरि शवको पोष्टमार्टम पनि गर्नैपर्छ।’ 

सो अवधिसम्म मृतकका आफन्त सम्पर्कमा नआए प्रहरीको पहलमा स्थानीय निकायले शव जलाउने कार्य गर्ने गरेको उनले बताए। त्यसपछि दुई वर्ष जति मृतकको पहिचान खुल्ने फोटो, कपडा, जुत्ता, नागरिकता अर्थात मृतकको साथमा जे भेटिन्छ त्योे राख्ने गरेको प्रवक्ता रावलले बताए।  केही मृतकका आफन्तहरु शव जलाइसकेपछि पनि सम्र्पकमा आउने भएकाले मृतकको पहिचान खुल्ने सामान राख्ने गरिएको उनको भनाइ छ।
 

रक्षा भट्ट दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछिन्।

कमेन्ट लोड गर्नुस