बैतडीमा ३५ सय बढी उद्योग दर्ता
धनगढी: बैतडीमा ३५ सय बढी उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय बैतडीमा अहिलेसम्म लघु, घरेलु र साना गरी ३ हजार ५ सय ९० उद्योगहरु दर्ता भइसकेका कार्यालयका सूचना अधिकारी लक्ष्मण साउँदले बताए।
उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ७५४ उद्योगहरु दर्ता भएका छन्। ०७७/७८ मा १३१ लघु, ४१८ घरेलु र ४५ साना उद्योग दर्ता भएका छन्। जिल्लामा दर्ता हुने उद्योगहरुको संख्या बढ्दै गइरहेको भएपनि उत्पादन र रोजगारीको क्षेत्र फराकिलो हुन नसकेको बताइएको छ। घरेलु तथा साना उद्योग कार्यालय बैतडीका प्रमुख अम्बादत्त जोशीका अनुसार उद्योगहरुको संख्या बढे पनि उद्यमीहरु भने बढेका छैनन्।
दर्ता भएका कतिपय उद्योगहरुमा सरकारी पक्षबाट अनुदान प्राप्त भइसक्दा पनि काम नभएको पाइएको छ। सरकारी सेवा, सुविधा र अनुदानका लागि उद्योगहरु दर्ता हुने गरेको कतिपयको टिप्पणी छ। घरेलु तथा साना उद्योग कार्यालयले अहिलेसम्म अनुगमन गर्न नसकिएको स्वीकारेको छ।