सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको ‘अर्गानिक’ स्याउ धनगढी आउदैँ, कहिले पुग्छ ?

२ हजार मेट्रिक टन उत्पादनको अनुमान

२०७९ साउन २८, ०२:३१ नारायण अवस्थी

धनगढीः बाजुराका किसानले उत्पादन गरेको स्याउ भदौ दोस्रो हप्ता बजारमा आउने भएको छ। बाजुरामा उत्पादित स्याउ सुदूरपश्चिमको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनी प्रदेशको नेपालगञ्ज बजारमा भदौ दोस्रो साता आउने भएको हो। हिमाली जिल्ला बाजुराको ५ हेक्टर क्षेत्रफलमा गरिएको स्याउ खेतीबाट यो वर्ष २ हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ। 

जिल्लाको दुई हजार ५ सय हेक्टरमा स्याउ खेती हुने भए पनि एक तिहाइभन्दा कम क्षेत्रमा मात्र स्याउ खेती गरिएको छ। स्थानीयमा स्याउ खेतीप्रति रुचि बढेकोले निकट भविष्यमै क्षेत्र विस्तार गर्ने दाबी गरिएको छ। 

बाजुरा जिल्लाको ५ स्थानीय तहमा स्याउ खेतीको लागि उपयुक्त हावापानी छ। जिल्लाको बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक गाउँपालिका, जगन्नाथ गाउँपालिका र हिमाली  गाउँपालिका स्याउ खेतीका लागि उपयुक्त ठाउँ हुन्। बाजुरामा स्याउ खेतीका लागि २५ सय हेक्टर क्षेत्रफल उपयुक्त छ। तर, अहिलेसम्म ५ सय हेक्टर क्षेत्रमा मात्रै स्याउ खेती गर्न सकिएको  सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि पनेरूले बताए।

 ‘बाजुरामा गत वर्ष रोग तथा किराको प्रकोपका कारण स्याउ उत्पादन कम आएको थियो,’ उनले भने,  ‘यो वर्ष भने किसानको बारीमा स्याउ लटरम्म फलेको छ। भदौ दोस्रो सातापछि बाजुराको स्याउ बजारमा आउने छ।’ दुर्गम तथा सडक संजालसँग नजोडिएको क्षेत्रमा खेती गरिएकोले उत्पादित स्याउ बजारसम्म ल्याउन ढुवानीमा समस्या छ। तर, विगतमा झै यो वर्ष पनि प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत ढुवानीमा किसानलाई अनुदान दिने भएको छ।

गत वर्ष ढुवानीमा प्रति किलो १५ रुपैयाँ अनुदान दिएको भए पनि यो वर्ष भने ढुवानीका लागि सूचना प्रकाशन भएको छैन। सूचना प्रकशनपछि मात्र दर रेट र ढुवानीमा अनुदानबारे जानकारी हुने छ। प्रदेश सरकारले ढुवानीमा अनुदान दिएकाले किसानमा स्याउ खेतीप्रति आकर्षण बढेको कृषि ज्ञान केन्द्र प्रमुख पनेरुले बताए।

बाजुरामा रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रेड डेलिसियस, फुजी र गाला प्रजातिको स्याउ खेती गरिएको छ। भदौ दोस्रो सातापछि स्याउ पाकेर बिक्री गर्न तयार हुने र त्यसपछि सुर्खेत, नेपालगञ्ज र धनगढीमा बाजुराको स्याउ उपलब्ध हुने छ। सरकारले स्याउ ढुवानी र प्याकेजिङमा किसानलाई अनुदान उपलब्ध गराउने छ। यो वर्ष ग्रेडिङ गरेर बजारमा स्याउ पठाउने तयारी भइरहेको  कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख पनेरू बताए।

बाजुरामा उत्पादित स्याउले बजार तथा उचित मूल्य नपाउने समस्या रहेको किसालने बताउने गरेका छन्। सडक सञ्जालको विस्तार नहुँदा र ग्रेडिङ कसरी गर्ने भन्ने थाहा नहुँदा बाजुराको रसिलो र अर्गानिक स्याउले बजार पिट्न सकेको छैन। तर जिल्लामा स्याउका नयाँ बिरुवाको माग बढेको छ।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस