सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट ड्रममा पेट्रोलियम पदार्थ लगेर बैतडीमा नियमविपरीत बिक्री

२०७९ साउन २८, १२:४६ खबर संवाददाता

धनगढीः बैतडीमा एक सयभन्दा बढी व्यापारीहरूले अवैध रुपमा डिजेल र पेट्रोलको कारोबार गर्दै आएको खुलेको छ। जिल्लाका विभिन्न बजारहरुमा उनीहरूले धनगढी र डडेलधुराबाट ड्रममा पेट्रोलियम पदार्थ लगेर बिक्री गर्ने गरेको खुलेको हो।

बैतडीको सतबाँजमा एक मात्रै भण्डारी आयल स्टोर रहे पनि व्यापारीहरूले अवैध रूपमा डिजेल र पेट्रोलको पदार्थको कारोबार गर्दै आएका हुन्। जिल्ला सदरमुकाम गोठालापानी, देहिमाण्डौँ, पाटन, खोड्पे, गोकुलेश्वर, सिल्लेगाडालगायतका सबै बजारमा दर्जनौँ व्यापारीले खुला रूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको स्थानीयले बताएका छन्। 

यसरी पेट्रोलियम पदार्थ बिक्री गर्दा दुर्घटनाको जोखिम छ भने उनीहरूले अत्यधिक महँगो भाउमा बिक्री गर्दा यातायात व्यवसायीले गाडी भाडासमेत बढाएका छन्। यस्ता व्यापारीका कारण बजारहरूमा दुर्घटनाको जोखिम बढेको निर्माण व्यवसायी मदनमोहन विष्टले बताए। व्यस्त बजारहरूका औषधि पसल, होटेल तथा मदिरा पसल, कपडा पसल, जुत्ता पसल, किराना पसलदेखि तरकारी पसलसम्ममा पेट्रोलको बिक्री हुने गरेको उनले बताए। 

भण्डारी आयल स्टोरले भने डिजेल मात्रै बेच्ने गरेको छ। उक्त आयल स्टोरलाई जिल्ला प्रशासनले पटक–पटक पेट्रोलको कारोबार गर्न निर्देशन दिए पनि तीन वर्षदेखि आनाकानी गरिरहेको बताइएको छ। यता, जिल्लामा पेट्रोलियम पदार्थको अवैध कारोबारका विषयमा जिल्ला प्रशासन कार्यालयले चासो देखाएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस