सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा गहना चोरेर शौचालयभित्र लुकाएको आरोपमा ‘खलासी’ पक्राउ

२०७९ साउन २७, ०६:३८ खबर संवाददाता

धनगढीः दार्चुलामा सुनको गहना चोरेर शौचालयभित्र लुकाएको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका-४ का उत्तर ठगुन्नाको झोलाबाट सुनको गहना (रिङ) चोरी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पक्राउ पर्नेमा जीपका सह-चालकसमेत रहेका शैल्यशिखर-२ रौतेउडाका १९ वर्षीय विनोद लुहार रहेका छन्। शुक्रबार दिउसो नौगाडबाट गोकुलेश्वर बजारसम्म आउने क्रममा विनोद सह-चालक रहेको जीपमा उत्तर पनि आएका थिए। जीपमै उत्तरले झोलाबाट कानमा लगाउने सुनको गहना (रिङ) हराएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरीले खोजी थालेको थियो। 

खोजतलास गर्ने क्रममा बिनोदले गोकुलेश्वर बजारस्थित बिष्ट होटलको शौचालयभित्र उक्त रिङ लुकाएर राखेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। अहिले प्रहरीले बिनोदलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ।

कमेन्ट लोड गर्नुस