बैतडीका स्थानीय तहमा झण्डै ३ करोड बेरुजु
बैतडी: बैतडीका स्थानीय तहहरुमा बेरुजु रकम बढ्दै गएको छ। बैतडीका स्थानीय तहमा एक बर्षमा मात्रै झण्डै २ करोड ८० लाख असुल गर्नुपर्ने बेरुजु रकम देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७७/७८ मा स्थानीय तहहरुमा २ करोड ७९ लाख ८८ हजार असुल गर्नुपर्ने बेरुजु रकम रहेको छ।
जिल्लाका १० स्थानीय तहमध्ये आर्थिक बर्ष २०७७/७८ मा सबैभन्दा बढी सुर्नया गाउँपालिकामा ६५ लाख ५२ हजार असुल गर्नुपर्ने बेरुजु रकम देखिएको छ। यस्तै सिगास गाउँपालिकामा ४९ लाख ६५ हजार, दोगडाकेदार गाउँपालिकामा ४५ लाख ६५ हजार, मेलौली नगरपालिकामा २२ लाख र दशरथचन्द नगरपालिकामा २१ लाख ३० हजार असुल गर्नुपर्ने बेरुजु रकम देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
यस्तै पञ्चेश्वर गाउँपालिकामा १७ लाख ३७ हजार, पुर्चौंडी नगरपालिकामा १६ लाख ७९ हजार, डिलाशैनी गाउँपालिकामा १५ लाख ४ हजार र शिवनाथ गाउँपालिकामा ११ लाख ८८ हजार असुल गर्नुपर्ने बेरुजु रकम देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।
नियमित गर्नुपर्ने र असुल गर्नुपर्ने बेरुजु रकम प्रत्येक बर्ष बढ्दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ।