सुदूर नेपाललाई विश्वसँग जोड्दै

ठेकेदार भीमबहादुर साउँदलाई कारबाही गर्ने विप्लवको चेतावनी

२०७९ साउन २५, ०५:५५ खबर संवाददाता

दार्चुला: विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले  राजेन्द्र निर्माण सेवा डडेल्धुराका सञ्चालक भीमबहादुर साउँदलाई कारबाही गर्ने चेतावनी दिएको छ। बुधबार विज्ञप्ति जारी गर्दै महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका–३ मा पर्ने श्रीबगर तपोवनस्थित महाकाली नदी किनारमा निर्माणाधिन पक्की तटबन्धको काम समयमै सम्पन्न नगरेको भन्दै ठेकेदार साउँदलाई कारबाही गर्ने चेतावनी दिइएको हो।

खोलाले सो क्षेत्रको बस्ती निरन्तर कटान गरेर स्थानीयको उठिबास भइरहेका बेलो निर्माण कम्पनीका सञ्चालक भिम साउँद मुखदर्शक बनेको भन्दै विप्लव नेतृत्वको पार्टीले कारबाही गर्ने चेतावनी विज्ञप्तिमा उल्लेख छ। 


कारवाहीको पहिलो चरण अन्तरगत आयोजनाको कार्यालय गल्फैस्थित मुल ढोकामा ताला लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दार्चुलाका सचिव भरत मल्लले जानकारी दिए। पार्टीले अनिश्चितकालीन तालाबन्दी गरेको भए पनि तालाबन्दी गरेको २०/२५ मिनेटपछि प्रहरीले ताला तोडेपछि कार्यालय पुनः सञ्चालनमा आएको आयोजनाले जनाएको छ।

आयोजनाको ढोकामा विप्लवका कार्यकर्ताहरुले दिउँसो १२ः५० मा तालाबन्दी गरेको बताइएको छ। तपोवन क्षेत्रमा अहिले पक्की तटबन्ध निर्माणको कार्य पूर्णरुपमा बन्द छ।  महाकाली नदीमा पानीको सतह बढेका कारण काम बन्द भएको आयोजनाले जनाएको छ। २०७५ सालमा तिन वर्षमा पक्की तटबन्ध निर्माण सम्पन्न गर्नेगरी डडेल्धुराको राजेन्द्र निर्माण सेवा संग सम्झौता भएको थियो। तिन वर्षभित्रै निर्माण सम्पन्न गर्नुपर्ने पक्की तटबन्धको काम विभिन्न कारण देखाउदै रोकिएको थियो। कोरोनाको पहिलो लहर र दोस्रो लहर चलेका बेला संक्रमण फैलिने भन्दै सरकारले नै काम बन्द गराएको थियो।

महाकाली नदी नियन्त्रण आयोजनाका अनुसार उक्त क्षेत्रको भौतिक प्रगती ५५ प्रतिशत र ३० प्रतिशत आर्थिक प्रगती भएको छ। सो क्षेत्रमा पक्की तटबन्ध निर्माणका लागि ११ करोड ५५ लाख ४४ हजार ६८ रुपैया छुट्याइएको छ।
 

कमेन्ट लोड गर्नुस