सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा छात्रा बेहोस हुन थालेपछि एक सातासम्म विद्यालय बन्द

२०७९ साउन २४, ०१:५५ खबर संवाददाता

बझाङ: बझाङको केदार माध्यमिक विद्यालयका छात्राहरू बेहोस हुन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ। बित्थडचिर गाउँपालिका–१ मा रहेको उक्त विद्यालयमा  आइतबार २५ जना छात्राहरू बेहोस भएका थिए। यस्तै सोमबार ६ जना छात्राहरू बेहोस भएका हुन्। 

उनीहरूको २ घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक बिष्णुसिंह बोहराले बताए। पहिलो दिन बेहोस भएका सबैलाई घर पठाए पनि दोस्रो दिन स्वास्थ्यचौकीमा पुर्याएर उपचार गराइएको उनले बताए। बेहोस भएका छात्राहरू नबोल्ने तथा इसाराले घाँटी च्यापिएको बताउने, आँखा फर्काउने गरेका छन्।

बेहोस भएका केही छात्राहरूको घरमा धामी बसाएपछि होसमा आएको शिक्षक मुरलीधर अवस्थीले बताए।  विद्यार्थीहरूमा बेहोस हुने समस्या देखिएपछि सोमबार देउलेक प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टर बोलाइएको थियो। उनीहरूमा मास हिस्टेरीया भएको डाक्टर ईश्वर बलामीले बताए। चिन्ता तथा डरका कारण त्यस्तो समस्या आउने गरेको डाक्टर बलामीले बताए।

एक जनामा समस्या भएपछि सरुवा रोग जस्तै अरुमा समेत यस्तो समस्या आउने डाक्टर बलामीको भनाइ छ। त्यस्ता छात्राहरूलाई अस्पताल लग्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। 

कमेन्ट लोड गर्नुस