सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका ग्रामिण सडकमा चिरा, गाडी चल्नै छाडे 

२०७९ साउन २०, ०६:५० खबर संवाददाता

बाजुराः बाजुरादेखि गाउँसम्म सुचारु हुँदै आएका ग्रामिण सडक बर्खा सुरु भएसँगै अवरुद्ध भएको छ। हिउँदको महिना स्काइभेटरले जमिन कमजोर हुने गरी गाउँसम्म निर्माण गरिएका सडक  वर्खामा पहिरोका कारण अवरुद्ध भएका हुन्।

बूढीगङ्गा नगरपालिका–७ झालीका स्थानीय चेतमान सार्कीले स्थानीय सरकारले करोडौं रुपियाँ खर्च गरी निर्माण गरेका ती सडक वर्खाको भलले चिरा पारेपछि अवरुद्ध भएको बताए। उनले भने,  ‘‘बाजुराका नौवटै स्थानीय तहले यातायातमा सहज हुने गरी गाउँमा सडक पहुँच गर्ने कार्यलाई बढी प्राथमिकता दिएर करोडौं रुपियाँ खर्च गरे पनि यहाँका स्थानीयलाई बर्खाको समय एक गाउँबाट अर्को गाउँ जान एक दिन  हिँड्नुपर्ने अवस्था छ।’’

उनले गाउँमा सडक खन्दा वातावरणीय प्रभाव मूल्याङ्कन बिनै खनिएका सडकमा पहिरो खसेपछि वर्खा गाउँमा सवारी साधान सञ्चालनमा आउन नससेको बताए। बाजुराको डाब खप्तड पर्यटन, बेतालमाडौंदेखि झाली, पुडावाउला, टुनीसैन, टम्टाना, लिसाना गुदुखातीलगायतका ग्रामिण सडक अवरुद्ध हुँदा वर्खाको समय स्थानीयलाई गाउँदेखि पालिकासम्म आउजाउ गर्न निकै सास्ती खेप्नुपरेको छ।

पालिकाले करोडौं रुपियाँ खर्च गरेर खनेका सडकले गाउँमा रहेको खेती योग्य जमिन बगाउँदा निकै क्षति भइरहेको स्थानीय बताउँछन्।
 

कमेन्ट लोड गर्नुस