सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका नाका हुँदै भारतबाट खुलेआम कुखुरा तस्करी हुँदै   

२०७९ साउन २०, ०३:४२ नारायण अवस्थी

धनगढी: भारतबाट कुखुरा ल्याउन बन्देज गरिएको छ। तर, सुदूरपश्चिमका नाका हुँदै भारतबाट खुलेआम रुपमा कुखुरा तस्करी हुँदै आएको छ। बोइलर अवैध रुपमा भित्रिदा प्रदेशका किसान समस्यामा परेका छन्। 

कैलाली र कञ्चनपुरसँग जोडिएको भारतीय क्षेत्रबाट हुने कुखुराको तस्करीका कारण सुदूरपश्चिमका १५ हजार किसान पेशाबाट पलायन हुने जोखिममा छन्। सीमा क्षेत्रबाट खुलेआम कुखुरा ल्याइँदा पनि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले कुनै चासो नदिएको व्यवसायीले बताएका छन्। सुरक्षा निकायको आडमै तस्करी हुने गरेको कञ्चनपुरका व्यवसायी हिक्मत कठायतले बताए। ‘भारतबाट ठुलो परिमाणमा कुखुरा तस्करी हुने गरेको छ। प्रहरी नै तस्करसँग मिल्ने भएको कारण तस्करी झन् मौलाएको छ’ उनले भने।  

सुदूरपश्चिम प्रदेश पोल्ट्री उत्पादनमा आत्मनिर्भर छ। तर भारतबाट हुने कुखुरा तस्करीका कारण पोल्ट्री व्यवसाय धरासायी हुन थालेको भन्दै चिन्ता गर्न थालिएको  छ। 

१५ हजार किसान संलग्न भएको पोल्ट्री व्यवसायबाट किसान पलायनको जोखिम बढेको हो। भारतीय तस्करीको कुखुरा नेपाल भित्रिने क्रम नरोकिँदा आफ्नो कुखुरा बिक्री नभएको गुनासो कैलालीका किसान भागेश्वर चौधरीले गरे। ‘खोरमा कुखुरा बिक्री गर्न तयार छन् तर १६० प्रति किलोका दरले बिक्री गर्नुपरेको छ,’ उनले भने, ‘दाना निकै महङ्गो छ, किसानलाई हरेक लटमा घाटा खाएर कुखुरा बिक्री गर्नुपर्ने बाध्यता छ।’

कैलालीको गोदावरीका किसान श्रवण चौधरीले पनि निकै कम मूल्यमा घाटा खाएर कुखुरा बेच्नु परेको गुनासो गरेका छन्। सस्तोमा कुखुरा बिक्री गर्दा लागतसमेत नउठ्ने समस्या रहेको उनले बताए। ‘भारतबाट तस्करी भएर आउने कुखुराको कारण हाम्रो कुखुरा बिक्री हुँदैन,’ उनले भने, ‘जिउँदो कुखुरा २०० प्रति किलोका दरले बिक्री भए लागत मात्रै उठ्छ। हामी कहाँ १४० मा किन्न आउँछन्।’

कञ्चनपुरको दोधाराचाँदनी, पुनर्वास, बेल्डाडी र बेलौरी तथा कैलालीको जुगेडा, फूलबारी हसुलिया र खक्रौलाबाट गाडीमै भारतीय कुखुरा तस्करी हुने गरेका छन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमतोमा तस्करी मौलाउँदा नेपाली किसानले घाटा खाएर १६० रुपैयाँ प्रति किलो जिउँदो कुखुरा बिक्री गर्नुपरेको गुनासो कञ्चनपुरको कृष्णपुरका पोल्ट्री व्यवसायी हिक्मत कठायतको छ। 

सुदूरपश्चिमको पोल्ट्री व्यवसाय भारतीय कुखुराको कारण धरासायी हुन लागेको व्यवसायी प्रेमराज भट्टले बताए। भारतबाट व्यापक रुपमा कुखुरा तस्करी हुँदा १५ हजार व्यवसायीको लगानी जोखिममा परेको उनको भनाइ छ। ‘भारतीय तस्करीको कुखुराको कारण हाम्रो व्यवसाय धरासायी हुन लागेको छ,’ उनले भने, ‘कैलाली र कञ्चनपुरमा हुने तस्करीले १५ हजार व्यवसायीको लगानी जोखिममा परेको छ।’

सुदूरपश्चिमका किसानले सस्तोमा कुखुरा बिक्री गरे पनि मासु बिक्रेताले भने ३४० रुपैयाँ प्रतिकिलोका दरले उभोक्तालाई मासु बिक्री गर्ने गरेका छन्।

कैलाली र कञ्चनपुरको सीमा क्षेत्रबाट हुने तस्करी रोक्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल खटाइएको छ। सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रहरी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराईले कुखुरा तस्करी रोक्न मातहतका सबै युनिटलाई निर्देशन दिने बताएका छन्। ‘कुखुरा तस्करी हुने गरेको गुनासो हामी कहाँ पनि आएको छ,’ उनले भने, ‘तस्करी रोक्न आज नै निर्देशन दिनेछु।’

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस